तनहुँ । जिल्ला अदालत तनहुँले आर्थिक वर्ष २०७७/७८ मा २ सय ५८ मुद्दा फैसला गरेको जनाएको छ । गत साउनदेखि माघ मसान्तसम्म सात महिनामा ७ सय ८ मुद्दा दर्ता भएका छन् । दर्तामध्ये चालू आर्थिक वर्षमा ४ सय ५० मुद्दा रहेको छ भने २ सय ५८ मुद्दा फैसला भएको हो । सम्बन्धविच्छेद मुद्दाका फैसला धेरै भएका छन् । सम्बन्धविच्छेदका ३ सय १३ मुद्दा दर्ता भएकामा चालू आवमा १ सय १४ वटा रहेको छ भने १ सय ९९ वटा फैसला भइसकेको सूचना प्रविधि सहायक सरोज तिमिल्सेनाले जानकारी दिएका छन् ।
सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्र माध्यमबाट फैसला गरिएको उनले बताए । सम्बन्धविच्छेदसम्बन्धी मुद्दामा महिला र पुरुष दुवैले मुद्दा दर्ता गराएका छन् । उनले भने, ‘तर मिलापत्रका लागि १ वर्ष अवधि पूरा भएको हुनुपर्ने कानूनी व्यवस्थामा उल्लेख गरेको छ ।’
त्यसैगरी जबर्जस्तीकरणी मुद्दामा १६ वटा मुद्दा दर्ता भएकामा चालू आर्थिक वर्षमा १५ वटा रहेको छ भने एउटा फैसला भएको छ । त्यसैगरी लागुऔषध मुद्दामा २३ दर्ता भएकामा चालू आर्थिक वर्षमा २० वटा रहेको छ भने ३ वटा फैसला, घरेलु हिंसामा १० मुद्दा दर्ता भएकामा चालू आवमा ९ वटा रहेको छ भने १ फैसला भएको छ । सवारी ज्यान मुद्दामा स्रोह वटा मुद्दा दर्ता भएकामा चालू आर्थिक वर्षमा १५ वटा मुद्दा रहेको र १ वटा मुद्दा फैसला भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिएका छन् ।
फरार युवाको खोजी जारी
इलाका प्रहरी कार्यालय बेलचौतारामा कार्यरत प्रहरी टोलीले माघ १८ गते २ जना युवकलाई पक्राउ ग¥यो । कारण थियो, उनीहरुका साथमा साढे ३ किलोग्राम गाँजा भेटियो । यसरी पक्राउ पर्नेमा पोखरा–२६ स्थित जलधारे निवासी १७ वर्षीय सुमन विक र २१ वर्षीय विवेक रावत थिए । पक्राउपश्चात् प्रहरीले अनुसन्धान थाल्यो र त्यसपछि तनहुँ जिल्ला अदालतमा पेश गर्न प्रक्रिया अघि बढाइयो । अदालत लैजानुपूर्व कोरोना पोजेटिभ भए नभएको जाँच्न पिसिआर परीक्षण गर्न माघ २० गते हत्कडी लगाएर पोखरास्थित गण्डकी अस्पतालमा पु¥याइएको थियो ।
पिसिआर परीक्षण गरेर तनहुँ फर्कंदै गर्दा पोखरास्थित चाउथेमा आइपुगेपछि गुडिरहेको गाडीबाट दुवै जना प्रहरीलाई धकेलेर भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन् ।
फरार युवकको खोजी भइरहेको उनले बताएका छन् । उनले भने, ‘अब छिट्टै उनीहरु पक्राउ पर्ने छन् ।’ प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग सो घटनाबारे जानकारी लिन खोज्दा त्यस बारेमा थाहा पाएपनि यथार्थ बुझ्न बाँकी रहेको बताए । ‘घटना हुँदाको समयमा जानकारी पाएको थिएँ ।’ उनले भने, ‘कार्यालयको कामको व्यस्तताले गर्दा प्रहरीसँग बुझ्न र अपडेट हुन बाँकी नै छ ।’ रासस