तनहुँ संवादाता ।
पछिल्लो समय तनहुँमा प्रविधिको प्रयोग गर्ने कृषकको संख्यामा वृद्धि भएको छ । धान झाँट्नको लागि थ्रेसर मेसिन, रोपाइका लागि ट्याक्टर, साना सुर्खा तथा बारी जोत्नको लागि हाते ट्याक्टर तथा कोदोको लागि कोदो झार्ने मेसिन प्रयोग गर्न कृषकले थालेका छन् ।
बन्दीपुर गाउँपालिका– ६ धारापानीका कृषक मनिलाल गुरुङले नयाँ नयाँ प्रविधिको विकास भएसँगै बाली भित्र्याउन सहज भएको बताए ।
‘कोदो बाली भित्र्याउनको लागि मेसिनले सजिलो हुनुका साथै सहज पनि भएको छ । मेसिनले एक घण्टामा पाँच मुरी कोदो झार्ने गर्छ भने एकैदिनमा ४० मुरीसम्म कुट्ने रहेछ ।’,उनले भने ।
यहि काम मानिसले गर्न परे पन्ध्र÷सोह्र जना लाग्ने रैछ । एकातिर समयको बचत अर्कोतर्फ सजिलो हुने, त्यसैले यस्तो प्रविधिको प्रयोग उपयुक्त भएको उनले बताए । यो मेसिन गाउँमा ल्याएदेखि गाउँका सबै कृषकलाई सजिलो भएको छ । त्यतिमात्र होइन छिमेकी गाउँका कृषकलेसमेत यो मेसिन भाडामा माग्न थालेको उनले बताए ।
बन्दीपुर धरमपानीका बासिन्दाले मास, भटमास, तोरी, कोदोलगायतका वस्तु झार्न प्रविधिको प्रयोग गर्न थालेका छन् । पछिल्लो समय कृषिजन्य प्रयोजनका लागि आवस्यक पर्ने औजार, हाते ट्याक्टरलगायतका सामग्री अनुदानको लागि माग बढेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए ।
‘अहिले मानिसहरुले काम गर्न पनि कम गरेका छन् । त्यसमाथि मानिसहरुले काम गर्दा ढिलो हुने र कठिन भएकाले पनि कृषकले सुविधा खोज्न थाले जसका कारण प्रविधितर्फ उनीहरु आकर्षित भए,’ उनले भने ।
धान झाँट्न थे्रसर मेसिन, रोपाइ गर्न ट्याक्टरलगायतका प्रविधितर्फ कृषकहरु आकर्षित हुन थालेका छन् । सजिलो र समय कम लाग्ने भएकाले पनि प्रविधितर्फ कृषकले रुचि देखाएका हुन् । यस्ता सामग्रीहरु जिल्लाको भानु, व्यास नगरपालिकासहित दश वटै स्थानीय तहमा प्रयोग गर्ने बढेका छन् ।
यस्ता खालको प्रविधिले सहज हुनुका साथै प्रभावकारी पनि मानिने उनले बताए । कृषि ज्ञान केन्द्र तनहुँले ८५ प्रतिशत अनुदानमा कृषकलाई कोदो झार्ने मेसिन उपलव्ध गराएको हो ।