दिपक के श्रेष्ठ
खोरमा कुखुरा, बारीमा तरकारी, क्याम्पफायर गर्न दाउराको चाङ, कोदोको रक्सी, पुसको ठिहीमा आतीथ्यता पस्कने न्यानो मन र माछापुच्छ्रे, अन्नपूर्णको हिमश्रृंखला, सबै सबै छ अष्ट्रेलियन क्याम्पमा ।
समुन्द्री सतहबाट २ हजार ५५ मिटरकाे उचाइमा रहेकाे भैसी चराउने पाखो अर्थात् खर्क जसलाई ठूलाखर्क भनिन्थ्यो, पछि अष्ट्रेलियन पर्यटकले ९० काे दशकमा त्यहाँ क्याम्पिङ गरेपछि ठाउँको नामै फेरिएर ‘अष्ट्रेलियन क्याम्प’ बन्यो । अनि स्थानीयले खर्क र गोठलाई होटलमा परिणत गरे । पोखराबाट गाडी र पैदल गरी सवा २ घण्टामै पुग्न सकिने क्याम्पमा आन्तरिक र बाह्य पर्यटकको लस्कर बढ्दै जाँदा होटल बढ्दै गयो, स्थानीयको आय बढ्दै गयो ।
चहलपहलको केन्द्रमा आफुलाई राख्न सफल क्याम्पमा स्थानीयले पूर्वाधारमा लगानी बढाउँदै गए । रिन काडेरै भएपनि होटल, रेष्टुरेन्टमा लगानी बढाउन स्थानीयले चिन्ता गरेनन् । पूर्वाधारमा धेरै लगानी गर्न नसक्नेले टेन्टमै पर्यटकलाई वासको व्यवस्था गरे । तर समय सँधै एकनासको भइदिएन ।
सन् २०१९ को अन्त्यतिर छिमेकी मुलुक चीनको वुहानमा भेटिएको कोरोना भाइरसले सम्पूर्ण भौतिक सीमा नाघेर विश्वव्यापी भयो । जसको कहर नेपालमा पनि भित्रनु स्वभाविक थियो । र, भित्रियो पनि । चैतको दोस्रो साताबाट देशव्यापीरुपमा लकडाउन सुरु भएपछि त्यसको असर अन्नपूर्ण गाउँपालिकको लुम्लेस्थित अष्ट्रेलियन क्याम्पमा पनि प¥यो । सोही कारण क्याम्पमा सबथोक छ तर पर्यटक छैनन् ।
पर्यटक नहुँदा बैंकको किस्ता रोकिएको छ । सरसापट रोकिएको छ । त्यहाँको जीवन रोकिएको छ । दशैं तिहारकोबीच फाट्टफुट्ट आन्तरीक पर्यटक त्यहाँ पुगेका थिए । त्यसपछि पर्यटन पुनः चलायमान हुने विश्वास गरेका व्यवसायी फेरि शून्यमै झरे । ‘केही आशा पलाएको थियो, विदेशी त सोचेकै थिएनौं तर नेपाली आउछन्/आउलान् भन्ने लाग्यो’ अष्ट्रेलियन क्याम्प गेष्ट हाउसका सञ्चालक हरि केसी भन्छन् ‘सोचेजस्तो भएन ।’

यतिबेला पर्यटनको सिजन हो । क्याम्पमा शुक्रबार आन्तरीक पर्यटकले होटलमात्र हैन टेन्ट पाउनसमेत मुस्किल हुन्छ । टेन्टमै सुत्न पनि ‘सोर्स’ लगाउनु परेको धेरैको अनुभव छ । कहिलेकाही हप्ता दिन अगावै बुकिङ नगरे त्यहाँ रमाउनै पाइन्न । कोरोना अघि कैयौं पर्यटक क्याम्पमा बस्न नपाएर निराश हुँदै नजिकैको पोथनातर्फ लाग्थे । अहिले त्यो ‘एकादेशको कथा’ भएको छ ।
‘कोरोनापछि २४ लाख रुपैयाँ घाटा भएको छ’ केसीले सुुनाए । कोरोना राहत, सरकारी प्याकेजबारे उनले थाहा नपाएको बताए । शुक्रबार पृथ्वीनारायण क्याम्पस पोखराको सानो समूह उनको होटलमा पुग्दा केसी थोरै खुशी देखिए । ‘अरु केही नभएपनि प्रचारप्रसार त हुन्छ, आन्तरीक पर्यटक क्याम्पतिर उक्लेलान्’ उनी आशावादी सुनिए ।
२०५० सालमा यहाँ आउँदा गोठमा पर्यटकलाई सुत्ने व्यवस्था हुन्थ्यो । यो ठाउँ भैसी चराउने खर्क हो, त्यही भएर ठूलाखर्क भनिन्थ्यो । उनीहरु टेन्ट लिएर आउँथे । पछि होटल बन्न थाल्यो ।
लकडाउनपछि पर्यटक शून्य छ । नेपाली आएनन्, विदेशी चान्सै भएन । कमाई जीरो छ । यो १० महिनामा करिब २४ लाख घाटा छ । पर्यटक आए सुरक्षासहित सेवा दिन हामी तयार छौं ।
अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले प्रति पर्यटक २ हजार रुपैयाँ उठाउँछ । उक्त रकम कहाँ कसरी खर्च हुन्छ भन्ने हाम्रो चासो छ । उनीहरुबाट लिइएको शूल्कले यस क्षेत्रको बाटोघाटो निर्माण र सुरक्षामा खर्च गरिनु पर्छ । पदमार्ग अझै पनि सुरक्षित छैनन् ।
पूर्वाधारयुक्त स्वास्थ्य चौकी निर्माणलगायतमा एक्यापले भूमिका वहन गर्नुप¥यो । एक्यापले हल्ला कम काम बढी गर्नुपर्छ ।
हरि केसी, पर्यटन व्यवसायी
उस्तै अनुभव छ अर्का होटल व्यवसायी माया गुरुङको । ‘कताकताबाट १ रुम गेष्ट हुन्छ, भात खानसम्म पुगेको छ’ गुरुङले सुनाइन् । दायाँ बायाँको गाउँतिर पर्यटकको चहलपहल भइरेको बताउने उनले क्याम्पको प्रचार नै हुन सकेन कि भन्ने आशंका गर्छिन् । व्यापारको नाफाघाटा सम्झेर मन दुखाउने काम मात्रै हुने उनले बताइन् ।
एञ्जेल्स हेवेन होटल सञ्चालन गरिरहेकी गुरुङ बिहीबारदेखि भने व्यस्त छिन् । नेपाली मार्शल आर्ट बुँदोकैदोको एक समूह त्यहाँ विन्टर शिविर चलाउन एक साता बस्दैछ । ‘अष्ट्रेलियन क्याम्पमा स्वागत छ’ गुरुङले भनिन् ‘घुम्न आउनु होला, सबैलाई चुल्हे निम्तो ।’