दिपक के श्रेष्ठ
नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका सचेतक एवं संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले दुई तिहाईको सरकार असफल भएको बताएका छन् ।
आजदेखि सुरु भएका प्रदेशको विशेष अधिवेशनमा बोल्दै नेपालीले केन्द्रको छायाँ प्रदेशमा पनि देखिएको भन्दै जनपक्षीय काममा लाग्नु पर्ने उल्लेख गरे । वर्तमान अवस्था अत्यन्त जटिल भएको भन्दै उनले जनस्वास्थ्यको विषयमा प्रदेश सरकार मौन भएको टिप्पणी गरे ।
नेपाली कांग्रेसको मान्यताअनुरुप कोभिड नियन्त्रणमा सरकारको प्रयत्न परिमाणमुखी नभएको बताउँदै उनले यस विषयमा सकारात्मक र रचानात्मक छलफल गर्न अधिवेशन आव्हान गरेको बताए ।
‘महंगी बढ्नु, बेरोजगार बढ्,न विकराल समस्या हो’ नेपालीले भने ‘प्रदेशको उद्योगधन्दा रुग्ण भएको छ प्रदेश सरकारले व्यवसाय र जीवन रक्षा कोष बनाउनेतर्फ ध्यान दिएन ।’
सरकारको तेस्रो वर्ष पुरा हुँदै गर्दा पनि बजेट निष्क्रिय भएकोमा आपत्ति जनाउँदै उनले कार्यान्वयन पक्ष फितलो भएको भन्दै आलोचना गरे । सरकारका योजनाहरु कार्यकर्तालाई रोजगारी दिने संस्थाजस्तो भएकोप्रति उनले रोष प्रकट गरे ।
प्रमुख प्रतिपक्ष कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशनको माग गरेको हो ।