ज्येष्ठ नागरिकको देशदर्शन टोलीलाई पोखरामा स्वागत

पोखरा, १३ फागुन / मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा ज्येष्ठ नागरिकलाई देश दर्शन कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रम अन्तर्गत कास्की आइपुगेको टोलीलाई पोखरामा स्वागत तथा सम्मान गरिएको छ । प्रदेश नम्बर ३ बाट पोखरा आएको टोलीलाई नेकपा एमाले जिल्ला कमिटि कास्कीको समन्वयमा एमाले बैदाम वडा कमिटीले स्वागत तथा सम्मान आयोजना गरेको हो ।

देश दर्शन कार्यक्रममा ७६ जना बृद्ध पुरुष र ४४ जना बृद्ध महिला सहभागी छन् । ३ नम्बर प्रदेशका बृद्धहरुलाई चार र पाँच नम्बर प्रदेशको दर्शन गराउने कार्यक्रम अन्तर्गत पोखरामा स्वागत गरिएको हो । बिहीबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले टोलीलाई काठमाडौंबाट बिदाई गरेका थिए । टोलीलाई धादिङ र तनहुँमा पनि स्वागत तथा सम्मान गरिएको थियो ।
पोखराका आएको टोलीलाई भजन चुट्कासहित लेकसाइड परिक्रमा गराइएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमालेका प्रदेश इन्चार्ज किरण गुरुङले एमाले चुनावी अभियानमा होमिएको बताउँदै सबैलाई चुनावी अभियानमा लाग्न आग्रह गरे । कार्यक्रममा मनमोहन प्रतिष्ठानका सदस्य सीता अधिकारी, राजेन्द्र गौतम, जिल्ला पार्टी अध्यक्ष कृष्ण थापा लगायतले बोलेका थिए । एमाले वडा नं. ६ का अध्यक्ष भीमसेन भुजेलको अध्यक्षतामा आयोजिन कार्यक्रमको सञ्चालन सचिव मदन पहारी गरेका थिए ।

सोही अवसरमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले नेपाल पत्रकार महासंघ कास्कीको नवनिर्वाचित कमिटिलाई स्वागत तथा सम्मान गरेको छ । केन्द्रीय उपाध्यक्ष तथा ४ नम्बर प्रदेशका इन्चार्ज सूर्य भुजेल तथा कास्कीका अध्यक्ष बलराम पहारीले सम्मान गरेका हुन् ।

कमेन्टहरु
Loading...