रुपा गाउँपालिकाको बजेट ३२ करोड ७७ लाख

पोखरा, १० असार /कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ३२ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाद्वारा शनिबार आयोजित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक, खानेपानी, कृषि, पर्यटन लगायतका बिषयलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५÷७६ लाई गाउँपालिकाको आर्थिक समृद्धिको आधारको वर्षका रुपमा लिइने बताउँदै उहाँले यस वर्ष उत्पादनमुलक र लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी बजेट तयार गरिएको बताउनुभयो । जनताको आयस्रोत बृद्धि, खाद्य सुरक्षा, स्वच्छ खानेपानी, स्वास्थ्य, शिक्षा पूर्वाधार विकासलाई मुख्य आधारका रुपमा लिदै सञ्चित कोषबाट आवश्यक बजेट विनियोजन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

गाउँपालिकाले युवा तथा बेरोजगार लक्षित गरी पेशा र व्यवसाय गर्न चाहनेका लागि गाउँपालिका संरक्षक रहने गरी सहकारीको ढाँचामा न्यूुनतम व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्थाका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । बाँझो जग्गाको सदुपयोग गर्न भूमी बैंकको अवधारणलाई अवलम्बन गर्ने नीति गाउँपालिकाले लिएको छ ।

जग्गा बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्न आवश्यक करको दरमा संशोधन गरी दोब्बर बनाइएको छ भने बाँझो जग्गा गाउँपालिकालाई निश्चित अवधिका लागि निश्चित दरमा भूमी बैंकमा राख्न सकिने व्यवस्था मिलाइएको छ । सो कार्यका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो । पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको गाउँपालिकाले चिसापानी, मरज्याङकोट, खडागाउँ, कुमाल गाउँ, तालवेसी, भंगराजमलकुना लगायतका गाउँलाई होमस्टे गाउँका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

गाउँपालिका भित्र उद्योग ग्राम स्थापना गर्न प्रदेश र केन्द्रसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । एक घर एक धारा निर्माण गर्न यस वर्षलाई खानेपानीको वर्षको रुपमा मनाउने योजना राखेको गाउँपालिकाले खानेपानीका लागि एक करोड ४२ लाख रुपैयाँ विनियोजन गरेको छ । सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको गाउँपालिकाले रणनीतिक महत्वमा शिशुवा, पोल्याङटार, रुपाकोट, थुम्की र बेगनास भोर्लेटार रुपा रिङरोड लगायतका सडकको स्तरोन्नति एवम् कालेपत्रे गर्ने जनाएको छ । सडक पूर्वाधारका लागि एक करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिकाले पशु विकासका लागि एक करोड ३० लाख, सहकारीका लागि ५५ लाख, सामाजिक समावेशीकरण र सुरक्षाका लागि १२ लाख, लैङ्गिक तथा बालबालिका समावेशीकरणका लागि नौ लाख, संस्कृति प्रवद्र्धनका लागि १३ लाख, स्वास्थ्यका लागि ३० लाख, युवा तथा खेलकुदका लागि १५ लाख छुट्याएको छ । त्यस्तै गाउँपालिकाले शिक्षा तर्फ ३० लाख, विज्ञान प्रविधिका लागि १५ लाख, सिंचाई तर्फ २२ लाख र भवनतर्फ २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिकरण कार्यक्रममा पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता खगराज अधिकारीले कुनै पनि विकास निर्माणमा इमान्दारिता एवम् जिम्मेवारिता आवश्यक रहेको बताउँदै अनियमितता गर्ने जो कोही कारवाहीको दायरामा ल्याउने उल्लेख गर्नुभयो । स्थानीय तहले जनताको सहमतिका आधारमा स्थानीय स्रोत साधनको भरपुर उपयोग गर्दै राजस्व संकलनमा बृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रदेश सभा सदस्य दीपक कोइरालाले प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा एउटा उद्योग ग्राम स्थापना गरी रोजगार सिर्जना गर्ने लक्ष्य लिएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य नारायण श्रेष्ठले बजेट कार्यान्वयन एवम् विकासका लागि पार्टीका तर्फबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की नेत्री निर्मला सुवेदी, जिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य टीकाराम पगेनी, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष प्रकाशमोहन खनाल, रुपा पोखरा सम्पर्क मञ्चका अध्यक्ष रोशन गुरुङ, गाउँपालिकाकी उपाध्यक्ष लालसुव्वा गुरुङ, नेकपाका नेता सवावक्स मिया, हस्तकुमार श्रेष्ठ, गाउँपालिककाा कार्यकारी अधिकृत हरिबहादुर भुजेल लगायतले आ आफ्ना धारणा राख्नुभयो । उक्त अवसरमा गाउँपालिकाका सातवटै वडामा विकास निर्माणका काम समयमा नै सम्पन्न गर्ने उपभोक्ता समितिका अध्यक्ष जनप्रतिनिधिलाई सम्मानपत्र र नगद सहित सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...