पोखरा, ६ असोज /पाँच करोड रुपैयाँ लगानीमा पोखरा लेकसाइडस्थित हल्लनचोकमा ‘डान्सिङ बोट’ नामक ‘पब’
संचालनमा आएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेसँगै
शुक्रबारदेखि विधिवत रुपमा ‘पब’ संचालनमा आएको हो । ‘चिल्ली बार’ पोखराको व्यवस्थापनमा संचालनमा
आएको ‘पब’ बाजेदेखि नाती पुस्तासम्मकै लागि लक्षित गरि संचालनमा ल्याएको यसका संचालकहरुले
बताएका छन् ।
लेकसाइडका पुराना रेस्टुरेन्ट व्यवसायीहरुले सँयुक्त रुपमा यो ‘पब’मा लगानी गरेका छन् । विश्वराज पौडेल,
भीष्मराज पौडेल, वेदप्रसाद बराल, मीनराज पौडेल, दामोदर पौडेलले सँयुक्त लगानी गरेर यो ‘पब’ संचालनमा
ल्याएका हुन् । पूर्णतया पारिवारीक लगानी रहेको ‘पब’मा एकैचोटी २ सय ५० जनालाई सेवा प्रवाह गर्न सकिने
‘पब’ व्यवस्थापनले जनाएको छ ।
शुक्रबार साँझ रिबन काटेर उद्घाटन गरेसँगै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले
पोखरामा ‘रेस्टुरेन्ट कल्चर’ बढ्दै गएको सुनाए । उनले ‘रेस्टुरेन्ट कल्चर’ बढ्दै जाँदा यसले प्रत्यक्ष रुपमा
प्रदेशको आर्थिक उन्नतीमा पनि प्रभाव पारेको बताए । साथै उनले यहाँको पर्यटकीय संभावना बढाउन नीजि
क्षेत्रको लगानीले ठुलो भुमिका खेलेको प्रतिक्रिया दिए । उनले पबको सफलताको शुभकामना दिँदै अन्य
व्यवसायीहरुलाई पनि लगानीको वातावरण बनाउन प्रदेश सरकारले उचित वातावरण बनाउँदै लैजाने बताए ।
शुक्रबारदेखि औपचारिक रुपमा संचालनमा आएको अवसरमा आयोजित विशेष कार्यक्रममा ‘पब’का प्रबन्ध
निर्देशक समेत रहेका भीष्मराज पौडेलले गण्डकी प्रदेशलाई पर्यटकीय हब बनाउनका लागि एउटा सानो प्रयास
आफुहरुले गरेको बताए । ‘हामीले अन्तराष्ट्रिय मापदण्डअनुसार यो पबलाई पोखरामा संचालनमा ल्याएका हौँ ।
पब पारखीहरुका लागि यो डेस्टिनेशन बन्न सक्छ ।’ ‘फुड, ड्रिंक्स एण्ड म्यूजिक’ थिममा संचालनमा आएको ‘
पब’ अपरान्ह १२ बजेदेखि राती ११ बजेसम्म खुल्ने उनले जानकारी दिए । तीन तलाको भवनमा रहेको ‘पब’मा
दैनिक स्थानिय तथा राष्ट्रिय ब्याण्डहरुको प्रस्तुती रहने व्यवस्थापनले जानकारी दिएको छ ।
‘पब कल्चर’ सत्रौँ शताब्दीतिर ब्रिटिश र आयरल्याण्डबाट शुरु भएको मानिन्छ । ‘पब’लाई सामान्यतया
मानिसहरु जमघट भई सामाजिक रुपमा घुलमिल हुने र खानपिन तथा संगीतमा झुम्दै ‘रिफ्रेश’ हुने ठाऊँको
रुपमा लिईन्छ । ब्रिटिश र आयरल्याण्डबाट शुरु भएको ‘पब’ सँस्कृति अहिले विश्वव्यापी रुपमा फैलिएको छ ।
संचालनमा आएसँगै ‘पब डान्सिङ बोट’ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत मुनाफाको केहि रकम
फेवाताल संरक्षणका लागि खर्च गर्ने जनाएको छ । ३ महिनासम्म ‘सफ्ट ओपनिङ पिरियड’ रहने जनाएको पबमा
यो अवधीमा ग्राहकहरुका लागि १० प्रतिशत छुटको व्यवस्था पनि गरिएको प्रबन्ध निर्देशक भीष्मराज पौडेलले
जानकारी दिए ।