सातौ पोखरा महोत्सवमा वन्यजन्तु हेर्नेको भीड

पोखरा, २ माघ/ पोखराको अमरसिंह चौरमा जारी सातौ पोखरा महोत्सवमा राखिएको वन्यजन्तु अवलोकन केन्द्रले दर्शकको मन जित्न सफल भएको छ । युनाइटेड क्लवले महोत्सवको आयोजना गरी लेखनाथको पचभैयामा निर्माणधिन पोखरा खुल्ला अन्तराष्ट्रिय चिडियाखाना अन्तर्गत वन्यजन्तु उद्धार केन्द्रको सहयोगार्थ वन्यजन्तु अवलोकन केन्द्रमा राखिएको बन्यजन्तुले दर्शकको मन जित्न सफल भएको हो ।

४ हजार दर्शकले अवलोकन केन्द्रभित्र राखेको बन्यजन्तुहरुको अवलोकन गर्ने गरेको महोत्सव प्रचारप्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अवलोकन केन्द्रमा राखिएको विभिन्न जंगली जनावरहरु मृग, कालिज, मयुर, निल गाइ, अजिंगर, मयुर लगायतका जीवजन्तु हेर्न दर्शकहरुको घुइचो लाग्ने गरेको छ ।

पश्चिमाञ्चल क्षेत्रिय बन निर्देशनालय पोखरा , जिल्ला बन कार्यालय कास्की, जिल्ला बन कार्यालय रुपन्देही र शंकरनगर बनबाटिका रुपन्देहीको विशेष सहयोगमा जनावरहरु ल्याइएको हो । यसमा पचभैया सामुदायिक बन उपभोक्ता समिती, चायापानी चिसाकुना सामुदायिक बन उपभोक्ता समिती र चैनपुर बन उपभोक्ता समितीको सहयोग रहेको छ ।

महोत्सवको तेश्रो दिन १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन । महोत्सवमा पोखरा र आसपासका छिमेकी जिल्लाहरुबाट पनि अवलोकनका लागी आउने गरेका छन । महोत्सवको तेश्रो दिन १ करोडको कारोवार भएको प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवको तेश्रो दिन लोकदोहोरी गायिका प्रीति आलेको बेली डान्सले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेकी थिइनभने हास्य कलाकारहरु सागर लम्साल (बले) र हरिस निरौला (कक्रोज)ले दर्शकहरुलाई हसाएका थिए भने स्थानिय कलाकारहरुले लोकदोहोरी मार्फत मनोरन्जन प्रदान गरेका थिए ।

महोत्सवको चौथो दिन लोकदोहोरी गायिका देबी घर्तीमगर, तारापति सुवेदी, चोलेन्द्र पौडेल, तुलसा जिसी, अमर धिताल, सुरेन्द्र गुरुङ, सिलु भट्टराइ लगायतको प्रस्तुती रहनेछभने लाइभ ब्याण्ड तथा पप कन्सर्ट तर्फ नविन के भट्टराइ एण्ड अतृप्तको प्रस्तुती रहने कलाकार ब्यवस्थापन संयोजक दिनेश सुनारले जानकारी दिए ।

कमेन्टहरु
Loading...