CAN

एमालेले पोखरा महानगरपालिकाको मेयरको उमेदवार​ मतदानबाट​ टुंगो लगाउने

160

पोखरा,  ७ वैशाख/नेकपा एमाले कास्कीले पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका आकांक्षी धेरै भएपछि मतदान प्रक्रियाबाट टुंगो लगाउने भएको छ ।

एमाले पोलिटब्युरो बैकल्पिक सदस्य​ एवं पूर्व जिल्ला कमिटीका अध्यक्ष मान बहादुर जिसी, साबिक​ पोखरा उप​महानगरपालिका पूर्व मेयर एवं जिल्ला कमिटी कास्कीका अध्यक्ष कृष्ण थापा, युवा संघ नेपालका अध्यक्ष राजीव पहारी र प्रदेश नम्बर–४ का सदस्य श्रीनाथ बराल मेयर पदको दाबेदार बनेका छन् ।

त्यस्तै, उपसचिव प्रभा कोइराला, जिल्ला सदस्य मञ्जु गुरुङ, जिल्ला सदस्य पोखरा लेखनाथ–११ की मीना गुरुङ, पूर्वजिल्ला उपसचिव देवका पहारी र केन्द्रीय विभागकी सदस्य पोखरा लेखनाथ–१९ की मीना गुरुङ उपमेयर पदका दाबेदार देखिएका छन् ।

मुलुकमै क्षेत्रफलमा सबैभन्दा ठूलो एवं पर्यटकीय नगरी पोखरा–लेखनाथ महानगरपालिकाको उच्च पदमा रहेर काम गर्ने उत्कृष्ट इच्छाका कारण कसैले पनि उम्मेदवारीको दाबी नछाडे पछि जिल्ला कमिटी कास्कीलाई निकै सकस परेको र मतदान प्रक्रियाबाट उम्मेदवार छान्ने निर्णय भएको जिल्ला कमिटी कास्कीका कार्यालय सचिव वैनबहादुर क्षेत्रीले जानकारी दिए ।

जिल्ला कमिटी कास्कीले भोली पार्टीको पोखरा–लेखनाथ महानगर संगठन कमिटीको बैठक डाकेको छ र त्यही बैठकबाट​ लोकप्रिय नेता छानिने बताइएको छ । सो कमिटीमा ४ सय​ ४१ जना सदस्य रहेका छन् ।