सेतीमा एक साथी डुबेपछि अन्य तीन जना पनि हाम फालेपछि ……………

प्रकाश ढकाल
पोखरा, २२ साउन/बिहीबार सेती नदीमा स्कुल जीवनको साथीहरु भेट भए । कलेजसम्म सँगै हुने अवसर कमैले मात्रै पाउँछन् । त्यसमा पनि साथीको साथ । जन्मेदेखि सँगै खेल्ने, सँगै पढ्ने, सुखदुख साट्ने, यो निरन्तरता सायदै भेटिन्छ । यस्तै दोस्ती थियो राजीव, सुरेश, शंकर र अभिषेकको ।

पर्वतको माझफाँटका यी चारै जना स्कुलदेखिकै साथी हुन्, जो अहिलेसम्म सँगै थिए । उनीहरु एकअर्कामा सुखदुख साटासाट गर्ने र परेका बेला मरेर सहयोग गर्ने प्रबृत्तिका । एसएलसी सकिएपछि उच्च शिक्षाका लागि उनीहरु पोखरा झरेका हुन् । शंकर र अभिषेक पोखरा उच्च माविमा भर्ना भए भने सुरेश जनप्रिय बहुमुखि क्याम्पसमा । राजीव चाहीँ अमरसिंह उच्च माविमा । राजीव ११ कक्षाका बिद्यार्थी र बाँकी तीनैजना १२ कक्षा पढ्ने ।

एउटै कलेजमा नपढेपनि कलेजको समय बाहेक पूरै जसो समय उनीहरु सँगै हुन्थे । तर विहिबार उनीहरुको साथमा तुषारो लाग्यो । जन्मेदेखि नछुटेको साथ छुट्यो कहिल्यै नजोडिने गरी । राजीवले आफ्ना तीनैजना साथीलाई गुमाए । सेतीनदीले बगाएर शंकर जिसी र अभिषेक बरुवालको मृत्यु भयो । सोही ठाउँका सुरेश मल्ल बेपत्ता छन् । उनीहरुसँगै खोलाको भेलमा परेका राजीव मल्ल भने भाग्यले बाँचे । बिहीबार दिउँसो शंकर कलेजबाट फर्किएपछि राजीवलाई फोन गरेर घुम्न जाने योजना सुनाए । राजीवले स्विकार गरेपछि अभिषेक र सुरेशलाई पनि खवर गरे ।

सबैजना राजीवको डेरामा जम्मा भए र निस्किए, खाल्टेमसिना तिर । करिब तीन बजेतिर उनीहरु खाल्टेमसिना पुगे । निकै गर्मी भएपछि पौडी खेल्न थाले । धेरैबेरसम्म पौडी खेलेपछि घर फर्किने तयारी गरे । त्यत्तिकैमा शंकर ज्यानमा लागेको बालुवा पखाल्न खोलामा पसे । बीचतिर पुगेपछि उनलाई खोलाले बगायो । साथीलाई बगाएको देखेपछि बचाउनका लागि अरु तीनजना पनि पानीमा हामफाले । तर उनीहरुलाई पनि छोडेन र खोलाले सँगै बगायो । केही बेरपछि राजीवलाई खोलाले किनारमा हुत्याईदियो । अरु चाहीँ पानीसँगै बगे ।

राजीवले किनारबाट धेरै टाढासम्म नजर डुलाए तर साथीहरुलाई देखेनन् । साथीहरु सँगै मलाई पनि बगायो, खोलासँग मिसिएपछि मलाई केही थाहा भएन, राजीवले भने–केही समयपछि आँखा खुल्दा किनारको ढुंगामा अड्किएछु । निकै बेरसम्म खोजेर नपाएपछि खोला किनारमा बालुवा भर्दै गरेका मजदुरलाई उद्धारका लागि हारगुहार गरेको उनले बताए । त्यसपछि मजदुरहरुले नै खोजेर करिब १ किलोमिटर तलबाट शंकर र अभिषेकको लास निकालेका हुन् । सुरेशलाई भने प्रहरीले धेरै बेरसम्म खोज्दा पनि नभेटिएको उनको भनाई छ । मैले त पुर्नजन्म नै पाएँ, भाग्यमानी महशुस गरिरहेको छु, उनले भने–तर साथीहरुलाई बचाउन सकिँन, दुखि छु । उनी भन्छन्–गएका साथीहरु गैहाले हराएकोलाई जिउँदो भेट्ने आस छ ।

विहिबार हराएका सुरेश शुक्रबार पनि भेटिएनन् । प्रहरीको उद्धार टोली र वडा प्रहरी कार्यालय रामबजारको टोलीले विहिबार दिनभर खोजी गरेको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । मृत्यु भएका शंकर र अभिषेकको लास पोष्टमार्टम पछि परिवारले बुझेका प्रहरीले जनाएको छ । यसैबीच, शुक्रबार पनि एक महिला रामघाटमा बेपत्ता भएकी छिन् । पोखरा १० औद्योगिक क्षेत्र बस्ने गिता कोइराला रामघाटमा हामफालेर बेपत्ता भएकी प्रहरीले जनाएको छ । उनको पनि खोजी कार्य जारी छ । महिलाले लगाएको चप्पल र झोला भने किनारमा फेला परेको प्रहरी निरीक्षक जोशीले बताए ।

कमेन्टहरु
Loading...