पोखरामा २७ को मरेखरे घाटसम्म पुग्ने सडक निर्माण

लेखनाथ, २२ असार /पोखरा महानगरपालिका वडा नं. २७ ले सेती नदी किनारमा रहेको मरेखरे घाटसम्म पुग्ने सडकलाई नमूना सडकको रुपमा निर्माण गरेको छ । ७९ लाख रुपैयाको लागतमा रिठ्ठेपानी देखी ९ सय ७५ मिटर सडक ढलान गरी घाटसम्म पुग्न सहज भएको हो ।

यसअघि स्थानीयले शवयात्रा तथा दाहसंस्कारका लागि घाटसम्म पुग्न सास्ती खेप्दे आएका थिए । महानगरपालिकाको सहयोगमा पहिलो चरणमा ६७ लाख रुपैयाको लागतमा करिव ८ सय १० मिटर र पछिल्लो पटक एक सय ६५ मिटर सडक ढलान भएपछि सडक निर्माण कार्य पुरा भएको हो । स्थानीय बासिन्दाको २ लाख रुपैया जनसहभागिता सहित पछिल्लो खण्ड १२ लाख रुपैयामा सम्पन्न भएको वडा नंं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले बताए ।

स्थानीयको सहयोगले योजना तोकिएकै समयमा सम्पन्न भएको सडक निर्माण समितिका अध्यक्ष क्याप्टेन गणेश प्रसाद गुरुङ्गले बताए । सडक निर्माणमा स्थानीय प्रगतीचोक आमा समूहले समेत सहयोग गरेको उनले बताए ।

वडाध्यक्ष गुरुङ्गले वडा नं. २७ मा सम्पन्न भएका योजना मध्ये मरेखरे घाटसम्म पुग्ने यो सडकनै नमूना सडकको रुपमा नमूना रहेको उल्लेख गरे । नमूना बनेको सडकको मर्मत संभारका लागि एक कोष नै निर्माण गरी निरन्तरता दिने समेत उनले बताए । महत्वपूर्ण सडकको रुपमा हामीले हेरेका छौं, वडाध्यक्ष गुरुङ्गले भने— ‘यसको मर्मत संभारका लागि पनि बेलैमा सोच्नु पर्छ त्यसका लागि म पदमा भए पनि नभए पनि सहयोग गर्न तयार छु । ’

दवदाहस्थल सम्म पुग्ने सडकको निर्माणबाट वडा नं. २६, २७, २८ र २९ नम्बर वडाका वासिन्दा लाभान्वित हुनेछन् । महानगरको सार्वजनिक लेखा समितिका संयोजक समेत रहेका गुरुङ्गले विकास निर्माणका काममा गुणस्तरलाई कहि कतै संझौता नगरिएको उल्लेख गर्दै, वडामा सम्पन्न सवै योजनामा आफुहरुले दैनिक अनुगमन गर्ने गरेको समेत बताए ।

वडाध्यक्ष गुरुङ्गका अनुसार वडा नं. २७ नम्बर वडामा चालु आर्थिक बर्षका सम्पूर्ण योजनाहरु सम्पन्न भएका छन् । उनले महानगरबाट वडास्तरिय योजनालाइ प्राप्त भएको १ करोड २५ लाख रुपैयाका सम्पूर्ण योजनाहरुनै असार २० गते भित्र सम्पन्न गरिएको उल्लेख गरे । सडक, सिंचाई, स्वास्थ्य, शिक्षा, खानेपानी र सामाजिक विकासका योजनाहरुमा रकम खर्च भएको समेत उनले बताए ।

वडाध्यक्ष गुरुङ्गले उत्कृष्ट कार्य गर्ने उभोक्ता समितिलाई सम्मान गर्ने परिपाटीलाई यस बर्ष पनि निरन्तरता दिने उल्लेख गर्दै वडाको सेवा प्रवाह र विकास निर्माणको काममा गुनासो रहे आफुलाई सम्पर्क गर्न समेत वडावासीलाई आग्रह गरे । उनले आगामी आर्थिक बर्षका योजनाहरु बर्षायाम सकिए लगतै कार्यान्यनमा लगिने समेत बताएका छन् ।

कमेन्टहरु
Loading...