मुस्लिम संघ नेपाल कास्कीको कार्यालय स्थापना

पोखरा, २६ चैत/मुस्लिम संघ नेपालले पोखराको कुँडकरमा संघको जिल्ला कार्यालय विस्तार गरेको छ ।  शनिबार प्रमुख अतिथि काँग्रेस नेता एवं पूर्व सभामुख तारानाथ रानाभाटले कार्यालय उद्घाटन गर्दै काँग्रेस प्रजातन्त्रमा विश्वास गर्ने पार्टी भएको बताए ।

उनले एकतामा जोड दिँदै देशको ठूलो पार्टी काँग्रेसलाई आगामी निर्वाचन अझ मजबुद बनाएर लैजानुपर्ने बताए ।  काँग्रेस नेता शुक्रराज शर्माले जाति, धर्मका विषय निजी कुरा हुन् भने ।  सांसद शारदा पौडेलले जसरी संविधानसभा निर्वाचनमा सम्पूर्णबाट सहयोग भयो, त्यसैगरी यसपालि पनि काँगे्रसलाई जिताउनुपर्नेमा जोड दिइन् ।

मुस्लिम संघ नेपालका केन्द्रीय अध्यक्ष हाजि अब्दुल सद्धार मियाँले काँग्रेस र मुस्लिम समुदाय एक सिक्काको दुई पाटा भएको उल्लेख गरे । उनले काँग्रेसले मात्र मुस्लिम समुदायको हितमा काम गर्ने दाबी गरे । काँग्रेस कास्कीका सभापति कृष्ण केसीले धार्मिक स्वतन्त्रताको रक्षा गर्ने पार्टी काँग्रेसमात्र भएको दाबी गरे ।  काँग्रेस नेता सोभियतबहादुर अधिकारीले अरुको आलोचना नगरी काँग्रेस सबैको हकहितको पक्षमा अघि बढ्ने बताए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, लोककवि अलिमियाँ वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देल, नगर सभापति बजिरमान श्रेष्ठले काँग्रेस प्रजातन्त्रमा विश्वास राख्ने पार्टी भएकोले सबैको हितमा काम गर्ने बताए ।

मुस्लिम संघ कास्कीका अध्यक्ष हारुन खान पैठानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाल गृहमन्त्रालय हज कमिटी सदस्य अब्दुल रहिम मियाँ र सञ्चालन अब्दुल रहिम मियाँले गरेका थिए । संघले योसँगै देशका ४३ जिल्लामा कार्यालय विस्तार गरेको छ ।

कमेन्टहरु
Loading...