फेरी मोटर साइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने

सुधिर भण्डारी
काठमाडौं, ५ जेठ /महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि सिटमा चढ्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउने भएको छ ।

तुलनात्मक रुपमा दुइपांग्रे सवारी दुर्घटना धेरै हुने र त्यसमा पनि पछाडी बसेको मान्छेको हेड इन्जुरीले ज्यान जाने गरेकोले पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम ल्याउन लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले जानकारी दिए।

‘दुइपांग्रे सवारीमा चढ्ने दुवैजानाले हेल्मेट लगाउनु पर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेका छौ। यातायात व्यवस्था ऐन २/३ महिनामा स्वीकृत(पास) हुन्छ र करिव ६ महिनामा यो कार्यान्वयनमा आउछ,’ पन्तले भने।

हेल्मेट पनि साधारण नभई आइएसओ स्ट्याण्डर्डको हुने पन्तले जानकारी दिए। ‘नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटको मापदण्ड तयार पारिसकेको छ। हामी त्यही अनुसार अगाडि बढ्छौ,’ उनले भने।

विभागले बाहिरी मेटेरियल के को हुने, केसिङ स्टक्चर कस्तो हुने, बाहिरको आवाज शून्य क्षमता कति हुने, लक लोड, भाइजरको क्वालिटी कस्तो हुनपर्ने भन्ने कुरा मापदण्डमा उल्लेख गरेको छ।

केही महिना अगाडि महानगरीय ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, उपभोक्ता अधिकार मञ्च, उद्योग वाणिज्य सघं र विज्ञहरूको छलफलमा सो मापदण्ड तयार पारिएको थियो।

दुवैजानालाई हेल्मेट अनिवार्य गराउदा केही झण्झट नहुने पन्तको तर्क छ।

‘ज्यान भन्दा ठुलो केही हुदैन। हेल्मेट हामी डिक्कीमा राख्न सक्छौ, भुण्ड्याउने कुनै प्रविधि विकास गर्न सक्छौ। दुर्घटनामा मृत्यु हुने मध्य ९६ प्रतिशत मोटरसाइकल र स्कुटर सवार व्यक्ति छन्। दुवै जाना ब्यक्ति ले स्तिरिय हेल्मेट लगाएको खण्डमा मृत्यु हुने सम्भावना कम हुन्छ,’ उनले भने ।

सेतोपाटी डटकमबाट https://www.setopati.com/kinmel/automobiles/180867

कमेन्टहरु
Loading...