स्वास्थ्य मन्त्रालयले सोध्यो मणिपाल अस्पताललाई किन खारेजी नगर्ने ?

काठमाडौ, १० बैशाख /स्वास्थ्य मन्त्रालयले पोखराको मणिपाल अस्पताललाई मुस्ताङको कागबेनीमा शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मिक उपचार सेवा नदिएको बारेमा स्पष्टीकरण माग गरेको छ । पत्र बुझेको २४ घण्टा भित्र स्पष्ट कारण र आधारसहित स्पष्टिकरण पेस गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको हो ।

मन्त्रालयले घटना छानबिन गर्न चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ। किन आकस्मिक सेवा नदिएको, यस्तो अस्पताललाई खारेज गर्न किन न मिल्ने व्यहोरा सहितको २४ घन्टे स्पष्टिकरण सोधिएको मन्त्रालयले जनाएको छ ।

संविधानको धारा ३५ उपधारा १ मा प्रत्येक नागरिकलाई अकस्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन भन्ने संवैधानिक व्यवस्था विपरित त्यहाँका चिकित्सकले घाईतेलाई आकस्मिक सेवा नदिएकाले स्पष्टिकरण मागिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ बमोजिम स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले स्वास्थ्य सेवा प्रवाह गर्ने ठाउमा बन्द हडताल गर्न नपाईने भएकाले उनीहरुले कानुनको उलंघन गरेको पनि मन्त्रालयको ठहर छ । संवैधानिक तथा कानुनी दायित्व उलंघन गरेकाले त्यस संस्थालाई प्रचलिन कानुन बमोजिम किन खारेजी सम्मको कारबाही नगर्ने भनेर मन्त्रालयले मणिपाल शिक्षण अस्पताललाई स्पष्टिकरण पत्र पठाएको छ।

समितिलाई तीन दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। शिक्षण अस्पताल शिक्षा मन्त्रालय मातहतमा पर्ने भए पनि शिक्षण अस्पतालले जनस्वास्थ्यमा खेलवाड गरेकाले स्वास्थ्य मन्त्रालयले अग्रसरता लिनुपरेको मन्त्रालयले स्पष्ट पारेको छ।
https://www.youtube.com/watch?v=mfBSOg9EnWk

कमेन्टहरु
Loading...