भारतमा पोखरा प्रवद्र्धन गरी फर्किए उपमहासचिव पोखरेल 

पोखरा, २२ वैशाख / पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव  अर्जुन पोखरेलले नेपाल र भारतबीचको ‘युवा अनुभव आदान प्रदान कार्यक्रम’ अन्तर्गत हालै सम्पन्न भारत भ्रमण पोखरा प्रवद्र्धनको लागि फलदायी भएको बताउनु भएको छ ।
 उपमहासचिव पोखरेल नेपाली युवाहरुको प्रतिनिधित्व गर्दै वैशाखको दोस्रो साता भारतको दिल्ली, मुम्बई र गोवामा रहेका भारतीय युवाहरुसँग अनुभवहरु आदान प्रदान कार्यक्रममा सहभागि हुनु भएको थियो । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा हुने सो कार्यक्रममा देशभरका विभिन्न पेशा, व्यवसायमा संलग्न करिब ४० जना युवाहरुको सहभागिता रहेको थियो ।
भ्रमणको क्रममा नेपाली युवा प्रतिनिधीमण्डलले भारतका सहरहरुमा युवाहरुले संचालन गरेको उद्यमशीलता, हस्तकला प्रदर्शनी, भारतीय पर्यटकीय क्षेत्रहरुको व्यवस्थापन लगायतका विषयमा जानकारी लिएको थियो । नेपाली प्रतिनिधीमण्डलको स्वागतमा भारत सरकारको युवा मन्त्रालयले आयोजना गरेको विशेष कार्यक्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको समेत उपस्थिति रहेको थियो । सो अवसरमा नेपाली युवाहरुको तर्फबाट संघका उपमहासचिव पोखरेलले पोखराको पर्यटनका विविध आयामहरुबारे चर्चा गर्दै भारतीय पर्यटकहरुलाई नेपाल घुम्नको लागि आग्रह गर्नुभएको थियो ।
उहाँका अनुसार सो अवसरमा  नेपाल लगानीको लागि उपर्युक्त ठाउँ भएको बताउँदै भारतीय युवाहरुसँग नेपालको पर्यटन क्षेत्रमा मिलेर अगाडि बढ्न सकिने सम्भावनाको बारेमा पनि चर्चा भएको थियो । भारतका सबै सहरमा भारतीय युवा परीषदसँग भएको छलफलले सहकार्यको नयाँ ढोका खोलेको उहाँको भनाई थियो ।  सार्क क्षेत्रमा रहेका युवाहरुबीच आपसी भाइचारा बृद्धि गर्दै उनीहरुलाई रचनात्मक कार्यमा परिचालन गर्नको लागि युवा तथा खेलकुद मन्त्रालयले युवा अनुभव आदान प्रदान कार्यक्रम सञ्चालन गरेको हो ।
कमेन्टहरु
Loading...