फोनिज कास्कीद्धारा स्थानिय निर्वाचन सम्बन्धि सञ्चारकर्मीलाई अभिमुखीकरण

पोखरा, १८ वैशाख /आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) कास्कीले पोखरामा क्रियाशिल पत्रकारहरुसंग निर्वाचन सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ । स्थानिय तहको निर्वाचन र आम सञ्चार विषय अभिमुखिकरण कार्यक्रममा क्षेत्रिय निर्वाचन कार्र्यालयका पदाधिकारी र पोखराका अग्रज पत्रकारले स्थानिय तहको निर्वाचनको बारेमा सहजीकरण गरेका थिए ।

पोखरामा क्रियाशिल ५६ जना सञ्चारकर्मीको सहभागीता रहेको तालिममा क्षेत्रिय निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकारी गंगालाल सुवेदी, युएनडिपी निर्वाचन सहयोग कार्यक्रमका प्रमुख इन्जिनीयर सुदिप अर्याल, क्षेत्रिय निर्वाचन कार्यालय पोखराका शाखा अधिकृत महेन्द्र सुवेदी र सञ्चारकर्मी भरत कोइरालाले सहजीकरण गरेका थिए ।
अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीहरुले नजिकिदै गरेको निर्वाचनको बारेमा धेरै कुरा थाहा पाएको र आगामी दिनमा निर्वाचनको बारेमा रिपोर्टिङ गर्न सजिलो हुने वातावरण तय भएको बताएका थिए ।

सो कार्यक्रममा राष्ट्रिय स्पोर्टस फोटो पत्रकारिता अवार्डबाट सम्मानित सुदर्शन रन्जित, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका राम गुरुङ र मोफसल फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका कृष्णमणी बराललाई सम्मान गरिएको थियो । सो तालिमको उद्घाटन गर्दै कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीले निर्वाचनको पूर्वसन्ध्यामा जनजाति पत्रकार महासंघले आफ्नो संगठनमा आवद्ध रहेका सञ्चारकर्मीलाई निर्वाचनको रिपोर्टिङको वारेमा तालिम दिएर संचारकर्मीलाई निर्वाचनको बारेमा अझै जान्ने मौका दिएकोमा धन्यवाद ब्यक्त गरे ।

सो अवसरमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले संचारकर्मीलाई उपयोगी हुने कार्यक्रमको आयोजना गरेकोमा फोनिज कास्कीलाई धन्यवाद ब्यक्त गरे । फोनिज कास्कीका अध्यक्ष एम बी आस्था मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष उमा आलेले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइनभने सचिव भुपाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...