पोखरा लेखनाथको वृहत्तर विकासका लागि काँग्रेसलाई भोट गर्न आह्वान

पोखरा, २३ बैशाख /नेपाली काँग्रेसको तर्फबाट पोखरा–लेखनाथ महानगरमा उम्मदेवारी दिएका प्रमुख र उपप्रमुख सहितको प्रचार टोलीले शनिबार लेखनाथ क्षेत्रका ४ वटा वडाहरुमा पुगेर जनतासँग भोट मागेको छ । काँग्रेसको जितपछि मात्रै महानगरले विकासको गति लिने दाबी गर्दै उम्मदेवारहरुले पोखरा र लेखनाथको वृहत्तर विकासका लागि आफ्नो पक्षमा मतदान गर्न त्यहाँका जनताको घरदैलोमा पुगेर आह्वान गरेका हुन् ।

महानगरको प्रमुख पदमा काँग्रेसबाट उम्मेदवारी दिएका रामजी कुँवर र उपप्रमुख सरस्वती गुरुङसँगै नेपाली काँग्रेस कास्कीका नेताहरु वडा नम्बर २६, २७, २९ र ३० का जनतामाझ पुगेका थिए । त्यहाँ पुगेर उनीहरुले जनताको मनोभावना काँग्रेसले मात्रै बुझ्न सक्ने दाबी गरे । विपक्षी दलका उम्मेदवारहरुले नेपाली काँग्रेसले पोखरा र लेखनाथबीच दरार ल्याएको भनेर गलत प्रचार गरेपनि वास्तविकतामा त्यस्तो नभएको नेताहरुले बताए ।

काँग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका रामजी कुँवरले त झन् यो विषयले आफ्नो विशेष ध्यान खिचेको बताए । ‘मेरो बास पोखरामा भएपनि मैले खाने गाँस लेखनाथले नै दिन्छ । म यहि लेखनाथमा रहेको मेरो खेतमा उब्जिएको धानले आफ्नो गाँस पु¥याउँछु । अनि मैले पोखरा र लेखनाथलाई कसरी छुट्टाउन सक्छु ?’ कुँवरले भने–‘विपक्षी दलका उम्मेदवारहरुले गलत प्रचार गरेपनि म लेखनाथभन्दा टाढा कुनै हालतमा जान सक्दिन ।’

साथै उनले वृहत्तर महानगरको परिकल्पना गरिरहँदा लेखनाथ क्षेत्रमा थुप्रै विकासका संरचनाहरु बनाउनका लागि आफुले कार्ययोजना तयार पारेको बताए । उनले लेखनाथको वडा नम्बर २७ सिलिङेडाँडास्थित ४ सय ८१ रोपनी जग्गामा अन्तराष्ट्रिय सम्मेलन केन्द्रको निर्माण आफ्नो योजना रहेको सुनाए । त्यस्तै लेखनाथमा अन्तराष्ट्रियस्तरको चिडियाखाना निर्माणसँगै क्षेत्रीयस्तरको बसपार्क निर्माण पनि आफ्नो कार्ययोजनामा रहेको बताए । यी सबै कार्ययोजनाको पुर्णताको लागि लेखनाथ क्षेत्रका बासिन्दाले काँग्रेसलाई भोट गरेर जिताउन उनले आह्वान समेत गरे ।

त्यस्तै नेपाली काँग्रेसको तर्फबाट महानगरको उपप्रमुखमा उम्मेदवारी दिएकी सरस्वती गुरुङले पोखरा र लेखनाथ मिलेर बनेको यो महानगरलाई नेपालकै नमुना बनाईने दाबी गरिन् । विकास निर्माणलाई गति दिनुका साथै महानगरलाई जेष्ठ नागरिक र महिलामैत्री बनाईने उनले आफ्नो योजना सुनाईन् । नेपाली काँग्रेसले ईतिहासदेखि अहिलेसम्म निरन्तर जनताकै पक्षमा काम गरिरहेको बताउँदै उनले निर्धक्क र प्रतिबद्ध भएर काँग्रेसलाई भोट गर्न जनतासमक्ष आग्रह गरिन् ।

सोहि क्रममा बोल्दै उनले जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्यको व्यवस्था गर्ने आफुहरुको योजना रहेको बताईन् । त्यसैगरि महिलाहरुलाई स्वरोजगार बनाउन सिपमुलक तालिम केन्द्रहरुको स्थापनामा आफ्नो विशेष जोड रहने उनले बताईन् । संविधानसभाबाट जनताले निकै अधिकार प्राप्त गरेको उल्लेख गर्दै त्यो अधिकारलाई संस्थागत गर्न काँग्रेसलाई नै भोट हाल्नुपर्नेमा उनले जोड दिईन् ।

लेखनाथ केन्द्रीत चुनावी अभियानलाई तिव्रता दिएको काँग्रेसले शनिबार आयोजना गरेको चुनावी सभा अन्तरगत वडा नम्बर २६ मा तारानाथ रानाभाट, यज्ञबहादुर थापा, सोभियतबहादुर अधिकारी, शुक्रराज शर्मा, गिरीराज गौतम, सुदीपमोहन भट्टराई, शारदा पौडेल लगाएतका काँग्रेसका नेताहरुले जनतासामु काँग्रेसलाई जिताउन अपील गरेका थिए । वडा नम्बर २६ अन्तरगत नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा मुरारी शर्मासहित सदस्यहरुमा निर्मला ढुंगाना, अन्जना बिक, नरेन्द्र थापा र हेमबहादुर बञ्जराभाटले उम्मेदवारी दिएका छन् ।

त्यस्तै वडा नम्बर २७ मा भएको चुनावी सभामा मेयर तथा उपमेयरका उम्मेदवारसहित वडामा उम्मेदवारी दिएका अध्यक्ष पुर्णकुमार गुरुङसँगै सदस्यहरु बुद्धिमाया रिजाल, सरस्वती सार्की ‘सरु’, प्रेमप्रसाद बराल र शेखरराज लामिछाने लगाएतले आफ्नो पक्षमा भोट हाल्न आह्वान गरेका थिए । सो सभामा काँग्रेसका नेताहरु हिरामणी सुवेदी, विन्दु सुवेदी, माया बराल, कुलदेबी बराल, राजेन्द्रमणी लामिछाने, खडानन्द लामिछाने, जंगबहादुर गुरुङ, कोपिला रानाभाट लगाएतले बोलेका थिए । सो क्रममा उनीहरुले पोखरा–लेखनाथ महानगरलाई खेलकुद, पर्यटन र सँस्कृतिको राजधानीको रुपमा विकास गर्न काँग्रेसलाई जिताउन जनतासमक्ष अपील गरेका थिए ।

त्यस्तै वडा नम्बर २९ मा भएको चुनावी सभामा उम्मेदवारहरुले काँग्रेसलाई जिताएको खण्डमा त्यहाँको सुकुम्बासी समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाए । ‘सुकुम्बासी वस्तीलाई व्यवस्थित गर्दैं सबैलाई लालपुर्जा उपलब्ध गराउन हाम्रो पहल हुनेछ । ’ नेताहरुले भने–‘त्यो सँगै त्यहाँ विकासका पुर्वाधार पु¥याउनका लागि काँग्रेसले पहल गर्नेछ ।’ वडा नम्बर २९ मा अध्यक्षमा दिपकमणी भण्डारीसहित सनबहादुर गुरुङ, मोतीलाल सुनार, लालुमाया कुमाल र कल्पना कँडेल परियारले सदस्यमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै वडा नम्बर ३० मा पनि अध्यक्षमा दुर्गाप्रसाद सुवेदीसहित सदस्यमा धनसुवा गुरुङ, कल्पनादेवी नेपाली, विनोदप्रसाद लामिछाने र सिता पौडेलले उम्मेदवारी दिएका छन् । सो वडामा ‘स्वास्थ्य र शिक्षामा काँग्रेसको ईच्छा’, ‘विकासको आधार, कृषिमा विस्तार’ र ‘घर–घरमा पानी, घर–घरमा बिजुली’ नारा दिएर उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् ।

यस्तै शनिबार वडा नम्बर २३ मा पनि काँग्रेसका उम्मेदवारहरुले घरदैलोमा पुगेर आफ्नो पक्षमा भोट मागेका छन् । वडा नम्बर २३ अन्तरगतको सिधाने, कुद्मीडाँडा, दमदमे, पुरानीगाऊँ, घाँटीछिना, चापाकोट, बाम्दी, मार्की, ठुलाखेत, कार्कीको तगारोमा उम्मेदवारहरु घरदैलोमा पुगेका थिए । घरदैलोमा पुग्दा जनताबाट सकारात्मक प्रतिक्रिया पाएपछि उनीहरु अझै बढि हौसिएका छन् ।

त्यस्तै वडा नम्बर १५ मा पनि विशेष मोटरसाईकल ¥यालीसहित त्यहाँका उम्मेदवारहरुले जनताको घरदैलोमा पुगी काँग्रेसलाई भोट हाल्न आह्वान गरेका थिए । यो सँगै महानगरको ३३ वटै वडामा नेपाली काँग्रेसको उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिईरहेका छन् । महानगरभरि काँग्रेसको पक्षमा माहौल बनिरहेको नेपाली काँग्रेस् कास्कीले जनाएको छ । त्यो सँगै आसपासका गाउँपालिकाहरुमा पनि काँग्रेसको पक्षमा जनलहर चलेको काँग्रेस कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...