भलाम र काहूँ पनि प्लाष्टिक झोला निषेधित

पोखरा २१ चैत/पोखराको भलाम र काहूँ पनि प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषित भएका छन् । पोखराको २० र २१ नं. वडालाई आईतबार प्लाष्टिक झोला तथा गिलास निषेधित अभियानका संयोजक बसन्त चालिसेले प्रतिवद्धता व्यानरमा हस्ताक्षर गरि प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरेका हुन् ।
सरोकारवाला विभिन्न निकायहरुसंगको लामो छलफल पश्चात उप–महानगरपालिकाले नगरका सम्पूर्ण वडाहरुलाई पहिलो चरणमा प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषित गर्दैछ । सवै वडाहरुको घोषणा समाप्तीसंगै उप–महानगर पालिकाले बैशाखमा सिङ्गो नगरलाइ नै प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्ने जनाएको छ ।

पोखराको २० र २१ को प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा सभामा प्लाष्टिक प्रयोगका कारण मानव स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावका वारेमा चर्चा गरिएको थियो । प्लाष्टिकका काने झोला तथा गिलास निषेधको अभियानलाई सफल पार्न वडा स्थित राजनैतिक दलका प्रतिनिधी, वडा नागरिक मञ्च, टोल विकास संस्था, आमा समूह लगायतले प्रतिवद्धता व्यानरमा हस्ताक्षर गरि सहयोग गर्ने बताए ।

उनीहरुले नगरपालिकाको यो अभियानलाई आफू र आफ्नो संघसंस्थाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा वडा स्तरिय राजनैतिक दलका प्रतिनिधी, टोल विकास संस्था वडा समन्वय समितीका अध्यक्ष, वडा महिला समन्वय समिती, आमा समूह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यक्रमका फोकल पर्सन महेन्द्र गोदार, वातावरण महाशाखा प्रमुख चन्द्रप्रसाद काफ्ले लगायतले बोलेका थिए । स्थानिय आमा समूहका अध्यक्षको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन चन्द्रावती वाग्लेले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...