एक करोड माग्ने अपहरणकारी पोखरामा पेस्तोलसहित पक्राउ

पोखरा, १८ भदौ/भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सुनौली जुगौली घर भई व्यपारको सिलसिलामा पोखरा आएका भारतीय नागरिक सोनु भन्ने खुर्सीद अहमदलाई भदौ १२ गते अपहरण गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अहमदलाई बन्धक बनाई पीडितका दाजुसँग १ करोड रुपैयाँ माग गरेको, रकम नदिए तथा प्रहरीमा खबर गरे मारीदिने धम्की दिएको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय कास्कीमा प्राप्त भएपछि प्रहरीले लेखनाथ नगरपालिका–८ शिशुवास्थित अशोक अधिकारीको घरमा उनलाई बन्धक बनाएको र घरको पछाडिबाट डोरी लगाई तल झर्दै गरेको अवस्थामा भदौ १३ गते फेला पारी उद्वार गरेको प्रहरीले विज्ञप्ती जारी गरि जानकारी दिएको छ ।

घटनास्थलबाट प्रहरीले मेड इन यूएसए लेखिएको पेस्तोल १ थान बरामद गरेको थियो । अनुसन्धानको क्रममा सोनुलाई अपहरण गर्न प्रयोग गरेको गाडीका चालक पोखरा उपमहानगरपालिका–९ नयाँबजार बस्ने भारत उत्तरप्रदेश गोरखपुर जिल्ला हमादीपुरका २५ वर्षीय शाहाबुद्धिन कुसेरीलाई पक्राउ गरेको थियो ।

घटनामा संलग्न नवलपरासी कावासोती नगरपालिका–११ बस्ने २१ वर्षीय अरुण घलेलाई शुक्रबार रुपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ । घटनामा संग्लन अन्य अभियुक्तहरुको खोजी गर्नुको साथै प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए छ ।

कमेन्टहरु
Loading...