बालगृहमा पुगेर मनाए महिला पर्यटन व्यवसायीले स्थापना दिवस

पोखरा, २९ साउन / महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)आफ्नो स्थापना दिवस पोखराबाट स्याङ्जाको बालगृह पुगेर मनाएको छ ।

“आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला” भन्ने उद्धघोषका साथ दुई वर्ष अघि गठित संस्थाले आफ्नो दोस्रो वार्षिकोत्सव कटुजे स्वाराँ स्याङ्जामा रहेको अमोर सेवा नेपाल, बालगृहमा पुगेर खाद्यान्न, खेलकुद र शैक्षिक सामग्री वितरण गर्दै बालबालिकासँग केक काटेर मनाएको हो ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेकपा एमाले नेतृ देवका पहारीले पोखराबाट स्याङ्जाको बालगृहमा आएर उनीहरुको माझ संस्थाले आफ्नो स्थापना दिवस मनाउनु सकारात्मक भएको बताउनुभयो । कुनै पनि संरक्षण विहीन बालबालिकाको पहिलो संरक्षणको जिम्मा राज्यको हुने भएकाले राज्यलेनै आफ्नो कर्तव्य पुरा गर्नुपर्ने बताउनुभयो ।

मानव सर्वश्रेष्ठ प्राणी भएकाले पनि कठिन परिस्थितीमा रहेकालाई सहयोग गरेर अगाडि बढ्नु मानवीय कर्तव्य भएको उहाँको भनाइ थियो । मञ्चका अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रमा आवद्ध महिलाको क्षमता अभिवृद्धि र व्यवसायिक पहिचान स्थापित गर्दै अगाडि बढेको संस्था सामाजिक सेवामा समेत उत्तिकै सक्रिय रहेको बताउनुभयो ।

उहाँले मानव सेवानै ठूलो धर्म भएकाले अभिभावक विहीन बालबालिकाको साथमा स्थापना दिवस मनाउन आएको बताउनुभयो । बालबालिकाको अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सदस्यबाट संकलित रकमबाट सहयोग सामाग्री हस्तान्तरण गरेको उहाँको भनाइ थियो । पराजुलीले आगामी दिनमा पनि संस्थाले सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

अमोर सेवा नेपालका अध्यक्ष कमला पराजुलीले पोखरा देखि आश्रय लिएका छोराछोरीलाई सम्झेर सहयोग गर्न आएकोमा महिला पर्यटन व्यवसायीको टोलीलाई धन्यवाद दिनुभयो । उहाँले २०६८सालमा स्थापना भएको जिल्लाको एक मात्र बालगृह भएकोले स्थानीय तहले सहयोग गरे बाहिरी सहयोगको जरुरी नपर्ने उहाँको भनाइ थियो ।

चार आनामा निर्मित साढे दुई तले पक्कि भवनमा अहिले चार वर्ष देखि १६ वर्ष सम्मको २३ जना बालबालिका रहेको उहाँले जानकारी दिनुभयो । विदेशी सहयोग विना आफ्नै नेपाली नागरिकको पवित्र सेवाले संस्थालाइ चल्दै आएको बताउनुभयो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै आइरहेको संस्थाले यसवर्ष अनाथ र असहाय बालबालिकाको साथ सहयोग सामाग्री लिएर कार्यसमिति सहित १८ जनाको टोली बालगृह पुगेको संस्थाका उपाध्यक्ष एवं संयोजक पार्वती पाण्डेले जानकारी दिनुभयो । कार्यक्रम सहसचिब ममता न्यौपानेले सञ्चालन गरेकी थिइन् ।

कमेन्टहरु
Loading...