पोखरामा होमस्टे मार्ट तथा कार्यशाला सुरु

पोखरा २५ चैत्र/गण्डकी तथा धवलागिरि क्षेत्रमा सञ्चालित घरबास (होम–स्टे) कार्यक्रमको बजारीकरण गर्ने उद्देश्यले आजदेखि पोखरामा होमस्टे मार्ट तथा कार्यशाला सुरु भएको छ ।दुई दिन सम्म पोखराको फेवा किनार स्थित नेपाल पर्यटन बोर्डको कार्यालय पसिरमा हुने कार्यशालामा यस क्षेत्रका होम स्टेका २२ सहित २६ स्टल छन् । कार्यशाला उद्घाटनको अबसरमा पर्यटन विद् झलक थापाले पर्यटन नेपाल चिनाउने एक मात्र माध्यम भएको बताए ।

नेपाल पर्यटन वोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले पछिल्लो समय संख्यात्मक रुपमा बढेको होम स्टे ब्यवस्थापन र संचालनमा देखिएका चुनौतीलाई सम्बोधन गर्दै समय सापेक्ष गुणात्मक सुधारका लागि कार्यशाला उत्कृष्ट थलो हुने विश्वास ब्यक्त गरे । होम स्टे सञ्चालकको ब्यबहारमा हार्दिकता र आत्मियता अपरिहार्य रहेको उनको ठहर छ ।पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुली, पर्यटन वोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख उदय भट्टराई लगायतले होम स्टेको अबधारणा ग्रामिण पर्यटन प्रबद्र्धनका लागि उत्कृष्ट भएपनि ब्यवसायीक हुन नसकेको औल्याए ।

नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) कास्कीको सह आयोजनामा सुरु भएको होमस्टे मार्ट तथा कार्यशाला भोली सम्म चल्नेछ । नेपाल पर्यटन वोर्ड क्षेत्रीय कार्यालय पोखराका बरिष्ठ अधिकृत सूर्य थपलियाका अनुसार नेपालमा सबैभन्दा बढी होमस्टे गण्डकी र धवलागिरिमा ६५ वटा दर्ता भएका छन् । कास्कीमा मात्र ३७ वटा होम–स्टे दर्ता भई सञ्चालनमा छन् ।

कमेन्टहरु
Loading...