तीस विदेशीले लगाए भाइटिका

पोखरा, २० कात्तिक ः संस्कृति र परम्पराका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ पश्चिमाञ्चल होटल संघ पोखराले मंगलवार आयोजना गरेको भाइटिका महोत्सव २०७० मा विभिन्न देशका ३० पर्यटकले सहभागिता जनाएका छन् । महोत्सवमा इजरायल, वेलायत, अमेरिका, चीन, फ्रान्स, जर्मनी लगायतका देशका महिला तथा पुरुष पर्यटकले भाग लिएका थिए । पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरको प्रागंणमा कार्यक्रम आयोजना गरिएको थियो । नमस्ते चिल्ड्रन होम लेकसाइडका छात्राहरुले महोत्सवका सहभागी विदेशी पर्यटकलाई भाइटिका लगाइदिएका थिए ।

जर्मनीबाट आएका कम्प्युटर इञ्जिनियर जोचियमले भाइटिका महोत्सवमा टिका ग्रहण गर्न पाउँदा आफूलाई नौलो अनुभुति भएको प्रतिक्रिया दिनुभयो । रंगीविरंगी टिका, मानिसहरुको सौहार्दपूर्ण व्यवहार र देउसी भैलो खेल्ने परम्पराबाट म साँच्चै नै प्रभावित भएँ, जोचियमले आफ्नो अनुभव सुनाउनुभयो ।  जर्मनीकै अर्का पर्यटक रोल्याण्ड २० वर्ष पछि पुनः नेपाल आउनुभएको हो । सूचना प्रविधि क्षेत्रमा काम गर्ने रोल्याण्डलाई पनि भाइटिकाको परम्पराले अमिट छाप छाड्न सफल भयो । पहिला आउँदा पनि मलाई भाइटिका बारे केही थाह थियो तर यो पटक सहभागी भएर टिका नै लगाउन पाउँदा रमाइलो लाग्यो, उहाँले भन्नुभयो । टिका लगाउने बेला तोरीको तेलमा डोवेको दुवो टाउकोमा घुमाएको, कलसमा पानी लिएर सहभागीलाई गोलाकार घेराले छेकेको अनि सयपत्री माला पहिरिएको अनुभव आफूले भुल्न नसक्ने उहाँले बताउनुभयो ।

विदेशी पर्यटकलाई भाइटिका लगाइदिएपछि कक्षा सातमा अध्ययनरत सरस्वती तामाङलाई पनि नौलो अनुभव भयो । आफूले पहिला पनि विदेशी पर्यटकलाई नमस्ते चिल्ड्रन होममा टिका लगाइदिइएको अनुभव उहाँले सुनाउनुभयो । अर्की छात्रा सरस्वती पोखरेलले पनि विदेशीहरुलाई टिका लगाइदिएर उपहार दिन पाउँदा रोमाञ्चक अनुभव भएको सुनाउनुभयो । देशविदेशमा नेपाली परम्परा र संस्कृतिको प्रचारप्रशार तथा यसैको माध्यमबाट बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउने उद्धेश्यका साथ संघले यसप्रकारको महोत्सव आयोजना गरेको संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिनुभयो । आपसी भाइचार बढाउन समेत सघाउने यसप्रकारको महोत्सवलाई आगामी वर्षहरुमा पनि संघले निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा पर्यटकलाई नाचगान तथा देउसीभैलो कार्यक्रममा सहभागी गराउँदा उनीहरु निकै उत्साहका साथ सहभागी भएको संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिनुभयो । गत वर्ष आयोजित यस्तै महोत्सवमा १८ विदेशीले सहभागिता जनाएका थिए । कतिपय पर्यटकहरु दोहो¥याएर समेत भाइटिका लगाउन पोखरा आउने गरेको संघका महासचिव लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । विदेशीहरुलाई टिका लगाइदिएपछि नेपाली परम्परा अनुसार सेलरोटी, तरकारी, अचार र अन्य उपहारहरु विदेशी दाजूभाइ तथा दिदी बहिनीलाई प्रदान गरिएको थियो ।

संघले आयोजना गरेको यस्तो कार्यक्रमले देश विदेशमा नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने मात्र नभई नेपाली संस्कृतिको सम्वद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । संघले १० वर्ष अघि नेपाल पर्यटन वोर्डको परिसरबाट भाइटिका महोत्सवको आयोजनाको आरम्भ गरेको संघका निवर्तमान अध्यक्ष विप्लव पौडेलले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...