हवाइ र सडक सञ्जाल प्रभावकारी बनाउन भारतीयको आग्रह

गुवाहाटी(भारत), २७ माघ/भारतको आसाम राज्यस्थित गुवाहाटीमा आयोजित एक कार्यक्रममा हवाइ र सडक सञ्जाल प्रभावकारी बनाउन सुझाव दिइएको छ । पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ यही माघ २४ देखि उत्तरपूर्वी भारतका विभिन्न स्थानमा आयोजित कार्यक्रम अन्तर्गत गुवाहाटीमा भारतीयले उक्त सुझाव दिदै यी कुरा प्रभावकारी बनाए आँफूहरू पर्यटक पठाउन तयार रहेको बताए ।

टुर अपरेटर एशोसिएसन अफ अछामका सचिव कुलदिप शर्माले सीमा जोडिएको छिमेकी राष्ट्र नेपालको विद्यमान हवाइ एवम् सडक यातायत सेवा सहज नभएको टिप्पणी गर्नुभयो । हवाइ सेवा र सडक यातायात सेवालाई प्रभावकारी बन्न सके उत्तरपूर्वी भारतका पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको उहाँले बताउनुभयो ।

धर्म संस्कृति एवम् भूगोल आदिका कारण स्वभाविक रुपमै नेपाल भारतीय नागरिकको रोजाइमा पर्ने उहाँको भनाइ छ । गुवाहाटीका पर्यटन व्यवसायी सञ्जीव क्षेत्रीले सीमा नाकास्थित नेपालको चन्द्रगढी विमानस्थलबाट पोखरालाई सिधै हवाइ सम्पर्क गनुपर्ने बताउनुभयो । सीमा नाका काँकरभित्ताबाट चन्द्रगढी विमानस्थल पुग्ने बाटो वर्षातमा हिलो र हिउँदमा धुलो हुने गरेको बताउँदै उहाँले सडक तथा हवाइ सञ्जाल जस्ता आधारभुत कुरालाई तत्काल व्यवस्थित बनाउन सुझाव दिनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवि पोखरेलले नेपाल भारतीय पर्यटकका लागि उपयुक्त गन्तव्य भएको बताउँदै नेपालको भ्रमण गरिदिन आग्रह गर्नुभयो । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलयिाले भारतीय पर्यटन हवाइ मार्गका साथै स्थल मार्ग हुँदै वर्षेनी ठूलो संख्यामा नेपाल जाने गरेको बताउनुभयो ।

पर्यटक आगमनका दृष्टिले नेपालका लागि उत्तरपूर्वी भारत महत्वपूर्ण स्थल भएको चर्चा गर्दै उहाँले पछिल्ला वर्षमा यस क्षेमा पर्यटन प्रवद्र्धनका कार्यक्रम सहित आँफूहरू आउने गरेको धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्डको तथ्याङक अनुसार नेपालमा आउने कुल विदेशी पर्यटक मध्ये सन् २०१८ मा १७.०९ प्रतिशत भारतीय पर्यटक हवाइ मार्गहुँदै आएका छन् ।

सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाइ मार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडक मार्गबाट आएका छन् । कार्यक्रम संयोजक सञ्जय कान्त सिग्देल, पोखरा पर्यटन परिषद्का कोषाध्यक्ष तारानाथ पहारी लगायतले नेपालको पर्यटनका लागि भारत महत्वपूर्ण स्थल भएको चर्चा गर्दै हवाइ एवम् सडक सञ्जाललाई व्यवस्थित गर्नुपर्ने जस्ता सुझावलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।

कमेन्टहरु
Loading...