एमाले महाधिवेशन वैशाख ११ देखि १५ सम्म पोखरामा

चैत अन्तिम सातासम्म प्रतिनिधि चयनको प्रस्ताव

CPN-UML1पोखरा,२६ पुष ।  नेकपा एमालेले पार्टीको आगामी नवौं महाधिवेशन वैशाख दोस्रो साता पश्चिमाञ्चलको पोखरामा आयोजना गर्ने प्रस्ताव अघि बढाएको छ । एमाले केन्द्रीय सचिवालयले आगामी ११ देखि १५ वैशाखसम्म पोखरामा नवौं महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको हो ।

गत मंगलबार सम्पन्न सचिवालय बैठकले महाधिवेशनका लागि कार्ययोजना र कार्यतालिकासम्बन्धी सातओटा प्रस्तावसमेत तयार पारेको छ । सचिवालयले प्रारम्भिक प्रस्ताव तयार पारेसँगै एमालेमा नवौं महाधिवेशनको आन्तरिक तयारी औपचारिक रूपमै अघि बढेको छ । महाधिवेशनबारे सचिवालयले तयार पारेको लिखित प्रस्ताव शनिबार बस्ने स्थायी समिति बैठकमा छलफलका लागि प्रस्तुत गरिने सचिवालयका एक सदस्यले जानकारी दिए ।

महाधिवेशन आयोजना तथा विधान संशोधन गर्ने प्रयोजनकै लागि स्थायी समितिको बैठक आयोजना हुन लागेको हो । सोही बैठकबाट महाधिवेशनको कार्यतालिका र विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिइने ती सदस्यले बताए ।

महाधिवेशनको तयारीका सिलसिलामा पहिलो चरणमा एमालेले पार्टीको विधान संशोधन कार्य अघि बढाउने भएको छ । आगामी १४ र १५ फागुनमा काठमाडौंमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकबाट विधान संशोधन गरी संशोधित नयाँ विधानका आधारमा नवौं महाधिवेशन आयोजना गरिने प्रस्तावित कार्ययोजना र कार्यतालिकामा उल्लेख छ । यसअघि गत भदौमै राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमार्फत विधान संशोधन गर्ने गरी मितिसमेत तय भए पनि संविधानसभा निर्वाचन तयारीका कारण देखाई एमाले केन्द्रीय कमिटीले स्थगन गरेको थियो ।

सचिवालयले तयार पारेर स्थायी समितिमा समेत एकसरो छलफल भइसकेको विधान संशोधन प्रस्तावमा पदाधिकारी संख्या १० पु¥याइने, वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्ने, ७० वर्ष पुगेका नेताहरूले अनिवार्य अवकाश लिनेलगायतका नयाँ कुराहरू प्रस्तावित गरिएको थियो । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको चयन नवीकृत सदस्यताका आधारमा आगामी २१ देखि २८ चैतसम्म आयोजना गर्न सचिवालयले प्रस्ताव गरेको आजको राजधानी दैनिकले छापेको छ ।

विधान संशोधन प्रस्ताव तयार गर्न र महाधिवेशनका लागि आवश्यक निर्णय गर्न सचिवालयले केन्द्रीय कमिटीको २५औं बैठक आगामी १० र ११ माघमा आयोजना गर्ने, त्यसअगावै सबै केन्द्रीय सदस्यहरूका हातमा विधान संशोधन प्रस्ताव पु¥याइसक्ने, केन्द्रीय कमिटीले स्थायी कमिटीद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि आवश्यक छलफल गरी अन्तिम रूप दिने, १५ माघभित्र मातहत कमिटीभित्र पु¥याइसक्ने प्रस्तावित कार्ययोजना र कार्यतालिकामा उल्लेख छ । त्यस्तै, सचिवालयले महाधिवेशनका लागि मूल व्यवस्थापन समिति, दस्तावेज लेखन समिति, आर्थिक समिति, प्रचार समिति र सांस्कृतिक समितिसहित पाँचओटा समिति÷उपसमिति गठनका लागि प्रस्तावित गरेको छ ।

दस्तावेज लेखन समितिले आगामी १५ फागुनसम्ममा महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेज लेखन कार्य सम्पन्न गर्ने, त्यसलाई अन्तिम रूप दिन १७ देखि २१ फागुनसम्म केन्द्रीय कमिटी बैठक आयोजना गर्ने, फागुन मसान्तसम्म स्थानीय कमिटीसम्म दस्तावेज पु¥याइसक्ने कार्यतालिका अघि सारेको छ । एमालेमा केन्द्रीय सदस्य घनश्याम भुसाललगायतका युवा नेताहरूको एउटा समूहले परिवर्तित परिस्थितिअनुसार जनताको बहुदलीय जनवादलाई समृद्ध बनाउने भन्दै नयाँ क्रार्यक्रमहरू समावेश गर्न छुट्टै दस्तावेजको तयारी गर्दै आएको छ ।

आठौं महाधिवेशनमा भुसाल, अर्का युवा नेता योगेश भट्टराईलगायतले छुट्टै दस्तावेज अघि सारे पनि अन्तिममा फिर्ता लिएका थिए । त्यतिबेलैको दस्तावेजमा आधारित रहेर उनीहरूले पार्टीभित्र वैचारिक बहस खुला गर्नुपर्ने माग गर्दै आएका छन् । त्यस्तै, १ बाट १५ चैतसम्म पार्टीव्यापी रूपमा दस्तावेजमा छलफल चलाउने कार्यतालिकामा उल्लेख छ ।

त्यस्तै, माघ दोस्रो सातादेखि नयाँ संगठित सदस्यता वितरण कार्य स्थगन गर्ने, आगामी माघ मसान्तभित्र संगठित सदस्यता नवीकरण गर्ने कार्यतालिका अघि सारिएको छ ।

कमेन्टहरु
Loading...