सवारी कर नघटाए गण्डकीमा अनिश्चितकालिन यातायात बन्द गर्ने यातायात व्यवसायीको घोषणा

राजु गिरी, पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले प्रदेश सरकारबाट निजी तथा सार्वजनिक सवारी साधनमा गरिएको अन्यायपूर्ण सवारी कर वृद्धि प्रति ध्यानाकर्षण भएको बताएको छ । प्रदेश सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने ठाउँमा गैह्रजिम्मेवार भै नागरिकको हित विपरित कर असुल गर्ने नीति ल्याएको भन्दै महासंघले विरोध जनाएको हो ।

प्रदेश सरकार संवेदनशिल नभएका कारण वाध्य भएर साउनको २२ गतेदेखि सार्वजनिक सवारीसाधनहरु घर–ग्यारेजमा राख्दै सांकेतिक आन्दोलन गरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार प्रसाद पौडेलले बताएका छन् । ‘साउनको २२ गतेदेखि सांकेतिक विरोध गर्नेछौं, त्यसमा प्रदेश सरकारले वास्ता नगरेमा १, २ दिन पछि गण्डकी प्रदेशमा अनिश्चितकालिन यातायात बन्द गर्नेछौं ।’ –संयोजक पौडेलले गन्थन डटकमलाई भने ।

सरकारले कुनै पनि बेला कुनै पनि पक्षलाई करको अव्यवहारिक बोझ बोक्न वाध्य बनाउन सक्ने देखिएको हुँदा आन्दोलनमा नीजि, सार्वजनिक तथा पर्यटन सवारी सञ्चालन गर्ने आम नागरिकको पनि भएको पौडेलले बताए । साथै उनले यस आन्दोलनमा साथ दिन यातायात व्यवसायीका साथै आम नागरिकलाई आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...