सडक महोत्सव गर्न हौसियो रेवान पोखरा

पोखरा । कोरोना महामारीबीच रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले पोखरामा २२ औं सडक महोत्सव गर्ने भएको छ ।

बुधबार रेवानले पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित रेवान पोखराले १५ देखि १७ पुषसम्म ‘२२ औं पोखरा सडक महोत्सव २०२०/२१’ आयोजना गर्न लागेको हो ।

रेवानले बुधबार पत्रकार सम्मेलन गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएको हो । सम्मेलनमा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष लक्ष्मण बरालले सडक महोत्सव मार्फत् पोखरा पर्यटक स्वागतको लागि तयार भएको सन्देश पुग्ने बताए । उनले अहिलेको विषम् परिस्थितमा सरकारले तोकेको मापदण्ड पालना गरेर महोत्सव गर्ने जानकारी दिएका छन् ।

त्यस्तै महोत्सवका संयोजक वसन्त गौतमले विगतका महोत्सवलाई निरन्तरता दिई पोखरा खुल्लै छ र पर्यटकको स्वागतका लागि आफूहरु तयार रहेको सन्देश दिन महोत्सव आयोजना गरेको बताए । अन्य वर्ष जस्तो यस वर्ष सडक महोत्सव ५ दिन नभई ३ दिन हुने भएको छ ।

रेवानले प्रत्येक ३ किमीको दुरीमा स्वास्थ्य मापदण्ड सम्बन्धी बोर्ड तथा सुचना दिने बताएको छ । त्यस्तै ३ वटा गेटमा हेल्थ डेस्क स्थापना गरेर सचेतना कार्यक्रम समेत गर्ने बताएको छ । यता पोखरामा कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दो छ । महोत्सवको मुख्य आकर्षणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम रहेको छ । महोत्सवले बाहिरी जिल्लाबाट पर्यटक आगमन हुने अपेक्षा राखेको छ ।

कमेन्टहरु
Loading...