मौजा, काहुँ, भलाम, अर्मलाकोट, निर्मलपोखरी जस्ता डाँडामा केबुलबार सञ्चालन गर्नुपर्दछः विद्या

पोखरा, ८ कात्तिक/ नेकपा कस्की २ की उम्मेदवार विद्या भट्टराई अधिकारीले विपक्षीले आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिने बताएकी छन् । उनले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्वकर्ता नेकपाले कसैप्रति आपेक्ष नलगाउने उनको भनाइ छ ।

आइतबार पोखरा१६ अर्मलामा भएको घरदैलो र कोणसभामा उनले कांग्रेसले फैलाएका भ्रममा जनताले विश्वास नगर्ने उल्लेख गरिन् । ‘विश्वासले संसार जितिन्छ,’ उनले भनिन्,‘ जोसुकैले जस्तोसुकै अपवाह फैलाए पनि जनता जनार्दन हुन् । आफैं सत्य छुट्याउन सक्षम छन् ।’
अर्मला र मौजाका लेकमा जडिबुटी उत्पादन र पशुपालन फारम स्थापना गरी व्यवसायिक बनाउने योजना उनले सुनाइन् ।

उनले मौजा, काहुँ, भलाम, अर्मलाकोट, निर्मलपोखरी जस्ता डाँडामा केबुलबार सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन् । यसका लागि वातावरणीय प्रभाव मूल्यांकन र सम्भाव्यता अध्ययन थालिएको छ । उनले अर्मलादेखि मौजासम्मको बाटो ३ वर्षभित्रमा कालोपत्रे गरिसक्ने घोषणा गरिन् । अर्मलाकोटलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने उल्लेख गर्दै उनले विकासका लागि गुरुयोजना बनाएर गर्ने प्रतिवद्धता जनाइन् ।

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले बृहद खानेपानी योजना सकेर चाडै यो क्षेत्रमा खानेपानीको सहज आपूर्ति हुने बताए । नेपाल ओलम्पिक कमिटीका सदस्यसमेत रहेका नेकपा नेता तेजबहादुर गुरुङले नेकपा विकास र समृद्धिको संवाहक भएको उल्लेख गरे । कार्यक्रममा नेकपा नेताहरु मीना गुरुङ, विनय थापा, गोमा गौतम, मातृशिशु अस्पतालकी उषा बरुवाल, लक्ष्मीनारायण आमा समूहकी अध्यक्ष सपना जिसीलगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...