मदरल्यान्डमा बिसौँ वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

पोखरा । विद्यार्थीहरूमा पढाइका अतिरिक्त मनोरञ्जन तथा खेलकुदलाई पनि मध्यनजर गरी मदरल्यान्ड मावि मासवार पोखराले कक्षा नर्सरीदेखि दससम्म हरेक वर्ष आयोजना गर्दै आएको वार्षिक खेलकुद कार्यक्रमअन्तर्गत यस वर्षको बिसौँँ वार्षिक खेलकुद कार्यक्रम एक समारोहबिच  विद्यालय प्रङ्गणमा शुक्रबार सम्पन्न गरिएको छ ।
एक हप्ता अघिदेखि विभिन्न चरणमा सञ्चालन तथा छनौट गरिँदै आएको यस कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा चारसम्म स्पून रेस, मिठाई दौड, म्युजिकल चियर, व्यालेन्स खेल, प्लेट रेस, ड्रेस अप रेस, बेलुन ब्रस्ट आदिजस्ता खेलहरू कक्षागत रूपमा आयोजना गरिएका थिए भने कक्षा पाँचदेखि कक्षा दशसम्म जुनियर र सिनियर गरी दुई तहमा बास्केटबल, भलिबल, टेबलटेनिस, बुद्धिचाल, विभिन्न दौड, रिले र एथ्लेटिक्स, टग अफ वार आदिजस्ता खेलहरूको आयोजना गरिएको थियो ।
कक्षा नर्सरीदेखि कक्षा चारसम्म सम्पूर्ण खेलहरू खुल्ला प्रतिस्पर्धाको आधारमा सञ्चालन गरिएको र कक्षा पाँचदेखि दससम्म खुला तथा अन्तरसदनात्मक रूपमा सञ्चालन गरिएको विद्यालय स्रोतले जानकारी दिएको छ । विद्यालयका प्राचार्य नारायण बरालका साथ नबौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिलातर्फको घनुषवाण प्रतियोगितामा तृतीय स्थानका साथ कास्य पदक हाँसिल गरेकी यसै विद्यालयको कक्षा १२ मा अध्ययनरत सोलीना गुरुङले बेलुन उडाएर उद्घाटन गरिएको यस कार्यक्रममा विद्यार्थीहरूले अन्तरसदनात्मक रूपमा मार्च पास र पिटी नृत्य प्रस्तुत गरेका थिए ।
खेल, सहकार्यकलाप र पढाइलाई मनोरञ्जनपूर्ण तरिकाले एकैसाथ अगाडि बढाउनका लागि विद्यालयभित्र गठित हरियो, पहेँलो, रातो र निलो गरी चार सदनबिच अन्तरसदनात्मक रूपमा प्रतियोगिता सम्पन्न गरिएको र उक्त खेलकुद कार्यक्रम अन्तर्गतका विभिन्न प्रतियोगितात्मक खेल र तिनीहरूको नतिजाअनुसार यस वर्षको उत्कृष्ट सदनको उपाधि शिक्षक मनोज थापा संयोजक रहेको पहेँलो सदनले हात पारेको छ भने अनुशासनतर्फको उपाधि शिक्षिका चन्दना थापा संयोजक रहेको रातो सदनले हात पारेको छ।
विजयी सदन तथा खेलाडी विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा पुरस्कार समापन कार्यक्रममा वितरण गरिएको कुरा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिए । यसै अवसरमा हालै सम्पन्न राष्ट्रिय खेलकुद प्रतियागितामा कास्य पदक प्राप्त सोलीना गुरुङलाई सम्मान पनि गरिएको थियो ।
विद्यालयका खेलकुुद विभागीय प्रमुख गङ्गा गुरुङको संयोजकत्वमा आयोजित उक्त कार्यक्रमको अन्त्यमा विद्यालयका प्राचार्य नारायण बरालले खेलमा अनुशासन र खेलका नियमहरू खेलाडीहरू नभुली  कर्यक्रमलाई मर्यादित, अनुशासित, उत्साहजनक, सभ्य, भव्य र अनुशासनपूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्ने विद्यार्थी, अभिभावक, शिक्षक/शिक्षिका तथा कर्मचारीलाई धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन आधारभूत तह कक्षा चारदेखि आठसम्मका इन्चार्ज अजय कुँवर, आधारभूत तह कक्षा नर्सरीदेखि तीन सम्मकी इन्चार्ज केशु शर्मा र  विद्यालयका सहकार्यकलाप प्र्रमुख सुनिल सुवालले संयुक्त रूपमा गरेका थिए ।
कमेन्टहरु
Loading...