दिगो विकासका लागि बहुमतको सरकार आवश्यक: एमाले उम्मेदवार भट्टराई

पोखरा । नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा दिगो विकासका लागि बहुमतको सरकार आवश्यक रहेको बताएकी छन् ।

मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रचारप्रसार कार्यक्रमको अवसरमा मंगलवार पोखरा १६ मा भएको घरदैलो कार्यक्रममा उनले मुलुकको राष्ट्रियता, स्वाभिमान र समग्र विकासका लागि एउटै दलको बहुमतको सरकारको खाँचो औल्याईन् ।

घरदैलो कार्यक्रममा मतदातासँग मत माग्दै स्थानीयका आवश्यकता र सुझाव संकलन गर्दै आएकी उनले  सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरण एवम् कृषि बजारीकरणमा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।

नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाउन बहुमतको सरकार आवश्यक रहेको बताउँदै उम्मेदवार भट्टराईले गठबन्धनको सरकारले मुलुकलाई अस्थिर बनाउने दावी गरिन् ।

जनतालाई रुवाएर होईन विकासले खुशीयाली ल्याउनु पर्ने आवश्यकता औल्याउँदै सवैको सहभागिता र समन्वयका आधारमा सडक पूर्वाधार निर्माणमा प्राथमिकता दिनेमा उनको जोड छ ।

निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मिना गुरुङले पोखरामा नयाँ थपिएका वडाका वासिन्दाले महानगरवासीको अनुभूति हुने गरी विकास निर्माण जुटने प्रतिवद्धता व्यक्त गर्दै सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास व्यक्त गरिन् । मतदाताको घरदैलो कार्यक्रममा गण्डकी प्रदेश समानुपातिक उम्मेदवार डा. छममाया पुनको पनि सहभागि थिईन् ।
नेकपा एमाले पोखरा १६ का अध्यक्ष राजेश गुरुङका अनुसार मंगलवार घार्मी, कुरेचौर, हर्पाक, काउरे, अम्मरेस्वारा, हरिपाउ, गर्लुङ, अर्मला र बाटुलेचौरका विभिन्न स्थानमा घरदैलो एवम् कोणसभा सम्पन्न भएको छ । पोखरा १६ महानगरको सवैभन्दा मतदाता धेरै भएको उक्त वडामा ११ हजार ८४२ मतदाता रहेका छन् ।

कमेन्टहरु
Loading...