गण्डकी बजेटः महामारी रोकथामलाई उच्च प्राथमिकता

पोखरा ।
गण्डकी प्रदेश सरकारले कोभिड–१९ लगायत महामारीको रोकथाम, नियन्त्रण र उपचरका लागि स्वास्थ्य प्रणालीलाई सवल एवम् सुदृढ बनाउने भएको छ । सोमबार गण्डकी प्रदेशसभाको वैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै प्रदेशका अर्थ मन्त्री किरण गुरुङले आधारभूत स्वास्थ्य सेवामा सबैको सरल र सहज पहुँच सुनिश्चित गर्दै गुणस्तर अभिवृद्धि गर्न आवश्यक बजेट व्यवस्था गरिने बताए ।

होम आइसोलेशनमा पनि आवश्यक मेडिकल सेवा उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गर्दै उनले प्रदेशका सबै नागरिकको लागि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी प्रबन्ध गरिने बताए । कोभिड अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था गरिने र कोरोना रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अन्य राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहनको व्यवस्था गरिने सिद्धान्त र प्राथमिकतामा उल्लेख छ ।

कोभिडका कारण प्रभावित व्यवसायलाई जीवन्तता दिन सञ्चालित ‘व्यवसाय जीवन रक्षा कोष’ कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै मन्त्री गुरुङले कोभिड–१९का कारण सहारा गुमाएका परिवारलाई रोजगारी र बालबच्चाको शिक्षा दीक्षाको आवश्यक व्यवस्था गर्ने कार्यक्रम ल्याइने जानकारी दिए ।

कमेन्टहरु
Loading...