पर्वतको लेप्रेमा लाटोकोसेरो तथा हुचील उत्सव हुने

पोखरा । पर्वत जिल्लाको जलजला गाँउपालिका—५ लेखफाँट लेप्रेमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८० हुने भएको छ ।

प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षणको संयुक्त आयोजना हुने उक्त उत्सव माघ १९ र २० गते लोप्रे स्थित मालिका आधारभुत विद्यालयमा परिसरमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपालका हरेक ठाँउमा उत्सव गर्दै आएको यो उत्सव ११ औ संस्करण रहेको छ । यस अघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ, स्याङ्जा र कैलाली जिल्लामा यो उत्सव सम्पन्न भएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले जानकारी दिए।

किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

उत्सव सम्पन्न गर्नका लागि स्थानीय याम कुमारी गुरुङको सयोजकत्वमा १७ सदस्यीय नेपाल लाटोकोसेरो तथा हुचील उत्सव मूल आयोजक समिति र विभिन्न ७ वटा उपसमिति गठन गरिएको छ।

उत्सवको समयमा चरा तथा प्रकृतिकोअवलोकन, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गित तथा नाँचको प्रर्दशनी गरिनेछ ।

स्थानीय विद्यालयहरुको नाँच, पन्चे बाजा, पुख्र्यौली नाँच, थिएटर नाँच, यानी माया, सालैजु लोपोन्मुख स्थानीय खेलहरु ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने, उत्सवमा रहने छ ।

वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षण सम्बन्धि नाँच तथा नाटक गाँउपालीका स्तरिय स्थानिय विधालयहरुमा चित्रकला, निबन्ध तथा कविता प्रतियोगिता समेतको आयोजना गरिएको छ ।

सो अवधिमा लाटोकोसेरो तथा हुचीलको अस्थाई सग्रहालय समेतको निर्माण तथा प्रदर्शनी समेत हुनेछ। सोही प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचनाहरु, चित्रहरु, तथा फोटोहरुकोप्रदर्शनी पनि गरिनेछ ।

गहँुको छ्वालीबाट, चुराबाट, ढुङगाबाट, स्टीलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिनेछन्।

आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडीयो हेर्ने व्यवस्था मिलाइएको छ । उत्सवमा सहभागी हुनेहरुको अनुहार तथा नङमा निशुल्क रुपमा लाटोकोसेरो तथा हुचीलको चित्रसमेत बनाइने व्यवस्था गरिएको छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिनेछ ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमुनाहरुपनि प्रदर्शनीमा राखिने छ । सो अवसरमा वन्यजन्तु अनुसन्धानकर्मीहरुको आफ्नो अनुसन्धानको बारेमा पोष्टरहरु प्रस्तुती गर्नेछन्। वातावरण क्षेत्रका विभिन्न संघ सस्थाहरुको जानकारीमुलक स्टलहरु समेत रहने छ। सो अवसरमा स्थानिय रुपमा उत्पादन भएका सामाग्रीहरुको प्रदर्शनी तथा विक्रीवितरणको समेत व्यवस्था गरिएको छ ।

उक्त अवसरमा चार जना अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने भएको छ।

संरक्षणकर्मीहरुलाई जनही २५ हजार सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ । यस वर्ष पुरस्कृत हुनेहरुमा, क्षेत्रपाटी काठमाण्डौका राजेन्द्र सुवाल, भजनी कैलालीका हिरुलाल डंगौरा, बाह्बिसे सिन्धुपाल्चोकका कुमार पौडेल र कोहलपुर, बाँकेका याम बहादुर रावत रहेका छन् ।

लामो समय देखि चरा, सिमसार तथा वन्यजन्तुसंरक्षणमा योगदान गरेको चरा संरक्षण नेटवर्क, कैलालीलाई सम्मान गर्न लागिएको छ । सो अवधिमा स्थानीय तहमा रहेर प्रकृति र पर्यापर्यटनमा योगदान गरेका आर के अदिप्त गिरी र समिर रेग्मी लाई ताम्रपत्र र दोसल्लाले अभिनन्दन गरिने छ।

स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट आन्तरिक पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य उत्सवको रहेको छ । यस किसिमको उत्सव नेपालबाहेक संसारभर अमेरिका, इटाली र भारतमा मात्र मनाइन्छ ।

गैँडालगायतका वन्यजन्तुहरुकै हाराहारीमा शिकार तथा अवैध व्यापार हुन थालेपछि यिनको संरक्षणमा पनि चासो बढेको हो। औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरुमा यिनको अवैध कारोबार हुने गर्दछ । प्रकृतिका साथीहरु नामक संस्थाले ४६ वटा जिल्लामा १६ वर्ष अघि गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा २ हजार वटासम्म लाटोकोसेराहरु तथा हुचीलहरु मारिने तथा विभिन्न मुलुकहरुमा अवैध रूपमा पठाइने गरेको भेटिएको थियो । यो संख्या हाल आएर १ हजार ५ सय भएको छ ।

नेपालमा यिनीहरुको वासस्थान तराइदेखि हिमालसम्म फैलिएको छ । यिनको संख्याको बारेमा नेपालमा अध्ययन नभए पनि हालसम्म २३ प्रकारका लाटोकोसेरोको प्रजातीहरु अभिलेख गरिसकिएको छ जसमध्ये ९ प्रजातीहरु नेपालमा दुर्लभ मानिन्छन्।

यसमध्ये एकवटा प्रजातीहरुलाई लामो समय देखि नेपालमा अभिलेख गरिएको छैन्। विश्वमा करिब २ सय ६० प्रजातीका लाटोकोसेराहरु पाइन्छन्।

(जलजला गाँउपालीका(५,लेखफाँट, लोप्रे) पर्वत जिल्लामा पर्ने भए पनि म्याग्दी जिल्लाको सदरमुकाम बेनी हुदैं पुग्न सकिन्छ । पर्वत बेनी मल्लाज चोकबाट फोर ह्विल जिप वा दुई पाङग्रेबाट करिब २ घण्टामा मल्लाज हुदैं यो ठाँउमा पुग्न सकिन्छ । बेनीबाट उत्सव अवधिभर सहजहोस भनेर नियमीत जिपहरुको व्यवस्था गरिएको छ । नेपालका मुख्य शहरहरुबाट वेनीसम्म बसहरु चल्छन्। पोखरा स्थीत बागलुङ बसपार्कबाट बेनी सम्मको लागि टेक्सिहरु पनि उपलब्ध छन् । महोत्सवको लागि भनेर लोप्रे गाँउमा अस्थाई होमस्टेको व्यवस्था गरिएको छ ।

कमेन्टहरु
Loading...