कास्की कारागारमा भारतीय अपराधी सुरज बर्माको राज

 

गन्थन डेस्क

कास्की कारागारमा सजाय काटिरहेका कैदीमध्येका दाई नाइके र भाई नाइकेहरुले अन्य कैदीमाथि ज्यादति गरेको सूचना बाहिरिएको छ । उनीहरुले जेल प्रशासनसँग मिलेर अन्य कैदीमाथि विभिन्न शोषण गरेको र जेलभित्र भ्रष्टाचार गरेको त्यहाँ रहेका कैदी र सजाय काटेर निस्किएकाहरुले जनाएका छन् ।

करिव तीन महिनाअघि सुरज बर्मा (भारतीय नागरिक)ले कास्की कारागारमा आर्थिक अनियमितता गरेको तथा गुण्डागर्दी गर्दै नेपालीलाई ज्यान मार्ने धम्की दिएको समाचार आएपश्चात् कास्की कारागारले उनलाई तनहुँको कारागार सरुवा गरेको थियो । कारागारभित्र उनको एउटा छुट्टै गुट थियो जुन टोलीले भित्रको राशन पसलसमेत सञ्चालन गर्दै आएको बताइन्छ ।

बर्मा त्यहाँबाट सरुवा भएता पनि उनको गुटका माधव गुरुङ, विमल घिमिरे र विराज पराजुलीको एक समूहले उनी हुँदा जे–जस्ता कार्य गर्थे अहिले पनि उनीहरू त्यस्तै अवैधानिक कार्यमा सक्रिय रहिरहेको र कारागारमा गुन्डागर्दी प्रदर्शनलगायतका दुर्ब्यवहार प्रस्तुत गर्दै अन्य कैदीलाई दुःख दिँदै आएको एक कैदीले फोनमार्फत् जानकारी दिए ।

नाम खुलासा नगरिदिने शर्तमा ती कैदीले दएको जानकारीपश्चात् केही पूर्वकैदी तथा हालै मात्र सजायमुक्त भएर निस्केका ब्यक्तिहरूलाई यस सन्दर्भमा जिज्ञासा राख्दा उनीहरूले आफ्नो पहिचान नखुलाइदिन आग्रह गरे ।

यस्तो छ एक पूर्वदीबन्दीसँगको कुराकानीको सार–संक्षेप:

० सुरज बर्माको समूहले अहिले के गर्छ कारागारमा ?
– बर्माको टोलीमा मुख्य तीन जना छन्, माधव गुरुङ, विमल घिमिरे र विराज पराजुली । त्यसमध्ये विमल घिमिरे त्यो समुहका नाइके हुन् । उनीहरूले अझै पनि बर्माको नाममा गुण्डागर्दी गर्दै अन्य कैदीलाई धम्क्याउँदै आफ्नो दबाबमा राख्छन् । उनीहरूले भनेको नमान्दा अनेक प्रताडना झेल्नुपर्ने हुन्छ । जसको पीडा मैले पनि भोग्नु पऱ्यो ।

० ती तीन कैदीका बारेमा थप के जानकारी छ तपाईंसँग ?
– माधव गुरुङ बर्माद्वारा सञ्चालित दोकानको कामदार हुन् । उसलाई बर्माले आफ्नो विश्वासिलो पात्रका रूपमा लिने गरेकाले बर्माले उनलाई कता–कता पैसा खुवाएर कुरा मिलाएर चौकीदार बनाएको हामीले सुनेका थियौँ । विमल घिमिरे भन्नेचाहिँ अहिले कास्की कारागारमा बर्माको समुहका नाइके हुन् । उनी विभिन्न गतिविधिमा सक्रिय रहकाले विभिन्न क्षेत्रका कारागारमा सरुवा भइराखेको हामीले बुझेका थियौँ । यसभन्दा अघि उनी तनहुँ कारागार, काठमाडौं कारागार पनि बसिसकेका रहेछन् ।

अहिले उनी कारागारभित्रको महत्त्वपूर्ण पद (दाइ नाइके)मा रहेका छन्, तर उनको ‘दाइ नाइके’ बन्ने समयावधि भने पुगेको थिएन । साथै घिमिरे अहिले कारागारभित्रका मेडिकल नाइके पनि हुन् । उनले कैदीहरूसँग पैसा लिएर नक्कली बिरामीको पत्र बनाइ अस्पताल लैजाने भनी बाहिर घुम्न जाने गरेको समेत हामीले थाहा पाएका हौंँ । उनले बिरामीलाई लापर्वाही गर्ने गरेको म स्वयम् बिरामी भएर बस्दा पनि अनुभव गरेँ । अर्का सदस्य हुन् बिराज पराजुली, उनले ती दुवैको ज्यादतिपूर्ण अवैधानिक कार्यमा साथ दिँदै आएका छन् ।

० कारागारभित्रको अवस्थाबारे अन्य केही गुनासो छ ?
– मेरो मात्र हैन धेरै कैदीहरूको मेरैजस्तो गुनासो छ । जेलरको पनि कारागारभित्र छुट्टै संसार भएको देख्यौँ हामीले । म कैदीको रूपमा भित्र हुँदा गणेश गौतम जेलर हुनुहुन्थ्यो । उहाँले नाइके मिनाहा भन्ने कार्यमा पैसा लिने गर्नुहुन्थ्यो । आफूसँग केन्द्रीय सरकारको राम्रो पहुँच रहेको दाबी गर्दै विभिन्न आश्वासन बाँडेर कैदीबाट रकम उठाइ ‘सुविधा’ दिनुहुन्थ्यो ।

यतिसम्म कि पैसामा कुरा मिलाएर कैदीलाई मोबाइल, ट्याब चलाउन समेत दिनुहुन्थ्यो उहाँ । साथै उहाँले कैदीबन्दीलाई गुणस्तरहीन लत्ताकपडा, सिरक–डसनाहरु बितरण गर्नुहुन्थ्यो, गुणस्तरहीन भएकाले केही कैदीले प्रयोग नगरेकाले त्यो अझै पनि स्टोर गरि राखिएको छ ।

यस्ता कार्यमा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन र कैदीबन्दीहरूको न्यायका लागि सरकारी निकायलाई यस विषयमा जुनै बेला पनि जस्तोसुकै सहयोग गर्न आफुहरू तयार रहेको पूर्वकैदीहरूले बताए ।

छिटोभन्दा छिटो सरकारी निकाय अर्थात् जिम्मेवार कार्यालयहरूको ध्यानाकर्षण गरेर दोषीलाई कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् । जिम्मेवार पक्षले छिट्टै नै उनीहरूलाई कारवाही गर्नेछ भन्ने कास्की कारागारका पूर्व कैदीबन्दीहरूको विश्वास रहेको छ ।

कमेन्टहरु
Loading...