अर्थ तथा विकास समितिद्वारा घोप्टेभीरको अवलोकन

पोखरा । गण्डकी प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समिति विभिन्न अप्ठेरो छिचोल्दै सोमबार डुम्रे–बेंसीसहर–चामे सडक अन्तर्गतको घोप्टेभीर पुगेको छ । ५ दिन अगाडि आएको बर्षाले घोप्टेभीरमा सडक पहिरोले बगाएपछि बेंसीसहर–चामे सडक ठप्प छ । वर्षातका कारण ठाउँठाउँमा अवरुद्ध भएको सडकमा पहिरो पन्छाउँदै, ढुङगा हाल्दै समिति घोप्टेभीर पुगेको हो ।

अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाको नेतृत्वमा गएको टोलीले बेसीसहर चामे सडक अन्तर्गतको बेसीसहर नगरपालिका ७ सहजी नजिकै पुमाखोला, वडा नं ६ खरखरे, बेलौती बिसौना, मस्र्याङ्दी गाउँपालिका वडा नं ४ घोप्टेभीर लगायतको ठाउँमा पहिरोले क्षति पु¥याएको सडक खण्डको निरिक्षण गरेको हो । घोप्टेभीरमा पहिरोको कारण बेलिब्रिज नै निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

अनुगमन पश्चात् सभापति कोइरालाले छिटो बेलिब्रिज हालेर बाटो सुचारु गर्न डुम्रे–बेंसीसहर–चामे योजनाका प्रमुखलाई आग्रह गरे । मनाङ र लम्जुङका जनताको दैनिक जीवनस्तरमा असर परेकोले तीव्र गतिमा काम गर्न सुझाव दिएका छन् ।

सडक खण्डको स्थलगत अवलोकन पछि समितिको तर्फबाट प्रदेश सरकारलाई छिटो काम अगाडि बढाउन निर्देशन दिने कोइरालाले बताए । अवलोकन पछि संसदमा प्रतिवेदन पेस गर्ने र समितिको तर्फबाट सरकारलाई निर्देशन दिएर बेसीसहर चामे सडकको काम पनि अगाडि बढाउने प्रतिवद्धत्ता जनाएका छन् ।

डुम्रे–बेंसीसहर–चामे योजनाका प्रमुख अमितकुमार श्रेष्ठले घोप्टेभीरमा बेलिव्रिज निर्माणको लागि काम थाल्ने प्रतिवद्धत्ता जनाएका छन् । उनले बेलिव्रिज निर्माणको लागि १ महिना लाग्ने बताए । घोप्टेभीरको सडक खण्ड पहिरोले पुरै भाग बगाइदिंदा सडक संञ्जालसंग मनाङ सम्पर्कविच्छेद भएको छ । मनाङका नागरिक फड्केबाट जोखिम पुर्णरुपमा आवतजावत गरिरहेका छन् ।

कमेन्टहरु
Loading...