एमाओवादी प्रतिपक्षमा बस्ने, एमालेलाई कांग्रेससँग मिलेर सरकार बनाउन सुझाव

पोखरा, २१ पौष/एकिकृत नेकपा माओवादीले नेकपा एमालेलाई कांग्रेससँग मिलेर सरकार बनाउन सुझाव दिएको छ। शान्ति कोष सचिवालय बबरमहलमा आइतबार बसेको एमाले र एमाओवादीबीचको बैठकमा एमाओवादीका उच्च नेताहरुले एमालेका उच्च नेताहरुलाई यस्तो सुझाव दिएका हुन्। 

एमाओवादी उच्च नेताहरुले एमालेसँग आफू प्रतिपक्षमा बस्ने नकारीसमेत गराएका थिए। बैठक एमालेको पहलमा बसेको थियो। बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठलगायत बैठकमा सहभागी थिए भने एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, माधव नेपाललगायत थिए।

एमालेले संविधानसभाको पहिलो बैठक बोलाउने, राष्ट्रपतिको चुनाव र सरकार निर्माणमा केन्द्रित रहेर छलफल गर्न एमाओवादीलाई डाकेको थियो। एमालेसँगको बैठकपछि एमाओवादीका नेता नारायणकाजी श्रेष्ठल्रे सेतोपाटीसँग भने, ‘हामीले हामी सरकारमा जाँदैनौं, तपाईंहरु र कांग्रेस मिलेर सरकार बनाउनुस्, पहिलो र दोस्रो पार्टी सरकारमा नबस्दा अस्थीरता आउँछ भन्ने हाम्रो अनुभवले देखाइसक्यो भनेर एमालेका शीर्ष नेताहरुसँग भन्यौं।’

नारायणकाजी श्रेष्ठका अनुसार एमाओवादीको केन्द्रीय समितिले प्रतिपक्षमा बस्ने निर्णय गरिनसके पनि शीर्ष नेतृत्वबीच यसबारे लगभग सहमति बनिसकेको छ। ‘हामीले हाम्रो पार्टीको केन्द्रीय समितिबाट आधिकारिक निर्णय गरेका छैनौं, तर हामी मुख्य नेताहरुबीच सरकारमा नजाने भन्नेमा समान धारणा छ,’ श्रेष्ठले भने।

उनले संविधानसभाको बैठक कसले बोलाउने भन्ने ‘ननइस्यु र ननसेन्स इस्यु’ भएको बताए। उनले भने, ‘हिजो बैठक हुँदा पनि मैले यो चाहिँ ननइस्यु र ननसेन्स इस्यु हो, यसमा छलफल गरिरहनुपर्ने कुनै कारण छैन भनेको थिएँ, त्यसबारे उच्चस्तरीय संयन्त्रमा पनि सर्वोच्चको निर्णय कुर्ने सहमति भएको थियो।’

कमेन्टहरु
Loading...