पोखराको मेयरमा राप्रपाबाट ११ जनाको दाबी

पोखरा, २८ चैत/कास्कीको पोखरा महानगरको मेयरमा राप्रपा कास्कीबाट करिब १ दर्जन नेताले दाबेदारी गरेका छन् भने उपमेयरमा ४ जनाले इच्छा देखाएका छन् । पार्टीको सोमबार भएको बैठकमा नेताहरूले दाबेदारी पेस गरेका हुन् ।

पार्टीबाट मेयरमा केन्द्रीय सदस्य डा. भीमसेन गुरुङ, पूर्व केन्द्रीय सदस्यहरू रोमबहादुर भण्डारी र विष्णुदेवी गुरुङ, पोखराका पूर्व मेयर भीमसेन थापा, पोखरा नगर अध्यक्ष रमेशबहादुर खत्री र साविक लेखनाथका पूर्व मेयर विष्णु पोखरेलले दाबी गरेका छन् । यस्तै, कास्की अध्यक्ष जयलाल पुन, पूर्व जिल्ला उपसभापति महेन्द्रबहादुर कार्की, पूर्व लेखनाथ अध्यक्ष कृष्णराज गिरी, क्षेत्र नं १ का अध्यक्ष नारायण गुरुङ र जिल्ला सदस्य प्रेम मल्लले पनि मेयरमा उम्मेदवार बन्न चाहेका छन् ।

मेयरको अनुपातमा उपमेयरमा भने चासो कम देखिएको छ । उपमेयरमा जिल्ला उपाध्यक्ष हरिदेवी अधिकारी, क्षेत्र नं. २ अध्यक्ष गीता गुरुङ, जिल्ला सहसचिव धनुमाया कोइराला र कास्की कोषाध्यक्ष रञ्जना सेन पौडेलले उम्मेदवार हुने आकांक्षा देखाएका छन् ।

राप्रपा कास्कीले विकास, निर्माणका मुद्दा पहिचान र स्थानीय तहको घोषणापत्र तयारी गर्न जिल्ला उपाध्यक्ष विष्णुप्रसाद पोखरेलको संयोजकत्वमा समिति गठन गरेको राणाले बताए । आकांक्षीहरूको नाम सिफारिस गरी महानगर परिचालन समितिले चाडै केन्द्रमा पठाउने जिल्ला उपाध्यक्ष एवं प्रचार समिति संयोजक वरुणविक्रम राणाले जानकारी दिए ।

कमेन्टहरु
Loading...