कास्की २ को उपनिर्वाचनमा साझा पार्टीबाट रजनी केसी उम्मेदवार बन्ने

रजनी केसी
135

पोखरा, २८ भदौ/ नेपाली कांग्रेसमा आवद्ध नेतृ रजनी केसी शनिबार साझा पार्टी प्रवेश गरेकी छन् । साझा पार्टीले शनिबार पोखरामा कास्की र पोखरा महानगर संयोजक घोषणा गर्न आयोजना गरेको कार्यक्रममा केसी साझा प्रवेश गरेकी हुन् ।

साझाले उनलाई कास्की क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने भएपछि उनी पार्टी प्रबेश गरेकी हुन् ।

पोखरा विश्वविद्यालयमा उपप्रशासक केसी २० वर्षे सेवावधि सकेर पेन्सन पाकेपछि पदबाट राजीनामा गरी साझा पार्टी प्रवेश गरेकी छन् । उनको राजीनामा कात्तिक १ गतेदेखि लागु हुने गरी विश्वविद्यालयले स्वीकृत गरेको छ ।

उनी उम्मेदवार बन्ने पक्कापक्की गरेरै पार्टी प्रवेश गरेको साझा स्रोत बताउँछ । तर शनिबारको कार्यक्रममा साझाले उम्मेदवार घोषणा गरेन । पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले कास्कीमा स्थानीयलाई नै उम्मेदवार बनाउने भने बताए ।

नेविसंघ हुँदै नेपाल महिला संघ र कांग्रेसमा सक्रिय नेतृ केसी २०५० को मध्यतिर पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा सदस्य उम्मेदवार थिइन्। उनले त्यो चुनाव भने जितिनन्। हक्की र जोशिलो स्वभावकी केसी विद्यार्थी राजनीति गर्दादेखि नै चर्चित थिइन्। केसीले साझाको नीति र कार्यक्रमबाट प्रभावित भएरै कांग्रेस छाडेर साझा प्रवेश गरेको उल्लेख गरिन्।

कास्की क्षेत्र नम्बर २ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त भएको हो। अधिकारीको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यहाँ वामदेव गौतमलाई उम्मेदवार बनाउने प्रयास गरिरहेको स्थानीय नेता कार्यकर्ता बताउँछन्।

कांग्रेसबाट रवीन्द्रसँग प्रतिस्पर्धा गरेका देवराज चालिसे, पुराना नेता खेमराज पौडेल, वीरेन्द्रनारायण बिजुक्छे, लक्ष्मी पाण्डे, ऋषि काफ्लेसहित दर्जनौंको नाम चर्चामा छ । २०७४ को आम निर्वाचनमा रवीन्द्र अधिकारीले चालिेसलाई साढे ८ हजार मतान्तरले पराजित गरेका थिए ।

साझा पार्टीले आइतबार कास्की संयोजक अर्जुन खनाल र महानगर संयोजक मनकाजी गुरुङलाई घोषणा गरेको छ । खनाल व्यवसायी र गुरुङ निजी विद्यालय सञ्चालक हुन् । खनाल नेकपाका नेता थिए ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...