पत्रकारलाई हतकडी लगाएर बन्दी ! यो कस्तो लोकतन्त्र ?- विवेकशील साझा

पोखरा, ४ बैशाख /पोखराका पत्रकार अर्जुन गिरीलाई ठगीको विरुद्धमा कलम चलाएकै भरमा पक्राउ गरी मुद्दा चलाएकोमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस काउन्सिलले हेर्ने मुद्दालाई सिआइबीले हेरेर हस्तक्षेप गरेको ठहर गर्दै पार्टीले कुनै व्यक्तिको ईशारामा देशको प्रहरी र प्रशासन चल्नु लज्जास्पद र यो सरासर प्रेस माथिको हस्तक्षेप भनेको छ ।

प्रदेश संयोजक महेश भण्डारीले बुधबार विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रता भएमात्र लोकतन्त्र सुन्दर हुने उल्लेख गरेका छन् । ‘समाचार लेखेको आधारमा एउटा पत्रकारलाई हतकडी लगाएर बन्दी बनाईनु यो कस्तो लोकतन्त्र हो ? विवेकशील साझा पार्टी, गण्डकीले सरकारको यो रवैया प्रति भत्र्सना गर्दछ।’ विज्ञप्तीमा उल्लेख छ ।

लोकतन्त्रको आन्दोलनमा साथ दिएको नेपाली पत्रकारितालाई लोकतान्त्रिक भनिएको सरकारले नै यसरी विभिन्न वहाना बनाएर अंकुश लगाईरहेकोमा विवेकशील साझा पार्टीले असन्तुष्टि व्यक्त गरेको छ ।

विज्ञप्तीमा भनिएको छः ‘तथ्यपरक पत्रकारिता गर्ने पत्रकारलाई किन झुठो मुद्दा लगाईएको छ ? यो सोचनीय विषय हो । यसले अहिलेको दुई तिहाई सरकारको दम्भ प्रस्टसँग झल्काउँछ।’ पार्टीले पत्रकार गिरीको तत्काल निशर्त रिहाईको माग गर्दै पत्रकार महासंघले उठाएको मागहरुप्रति ऐक्यबद्धता जनाएको छ ।

कमेन्टहरु
Loading...