ठूला माछालाई छाडेर साना माछालाई तर्साएर आत्महत्या गर्न बाध्य पारिदैछः डा.भट्टराई

पोखरा, ३२ साउन/ समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान सरकारले राज्यको दोहन गरेर आफ्नै आसेपासेलाई पोसेको आरोपसमेत लगाएका छन् । समाजवादी पार्टी गण्डकी प्रदेश, कास्की र पोखरा नगर कमिटीको समायोजन तथा सपथ ग्रहण कार्यक्रममा उनले सरकारको यस्तो कार्यले नेपाललाई विश्वमै लज्जित बनाएको बताए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले ओली सरकारले ठूला माछालाई छाडेर साना माछालाई समात्ने र धम्क्याउँदै आत्महत्या गर्न बाध्य पारिरहेको आरोप लगाए । उनले समाजवादी पार्टी हात्ति भएको बताउँदै यसले नेपाललाई संसारकै धनी र समृद्ध देश बनाउने दाबी गरे । हाम्रो पुरानो आहान छ,‘उनले भने,‘हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै हो, तर त्यो होइन, हात्ति हात्ती हो, हात्ती छाप चप्पल हात्ती जस्तो मात्रै हो, हात्ती होइन, त्यसैले समाजवादी पार्टी स्वस्थ र बलियो हात्ती हो ।’

शुरुदेखि नै नेकपाप्रति आक्रोषित देखिएका डा.भट्टराईले कांग्रेस र कम्युनिष्ट उस्तै भएको टिप्पणी गरे । दुबै पार्टी उस्तै उस्तै हुन्,‘उनले भने,‘व्यवहार र शैली दुबैको उस्तै छ, केवल नाम र झण्डा मात्र फरक छ ।’

उपप्रधान तथा संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबपनि संविधान संसोधन नभए सरकार छाडेर सडक संघर्षमा आउने चेतावनी दिए । उनले संविधान संसोधन गर्छु भनेर प्रतिबद्धता जनाएपनि पूरा नगरेकाले अब सरकारमाथि शंका गर्ने बेला आएको बताए ।

संघीयता, समावेशीता र समावेशी लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने दुस्प्रयास भइरहेको दाबी गरे । कांग्रेस, कम्युनिष्ट र केहि राजावादी पार्टीहरुले संघीयता देशका लागि आवश्यक छैन, संघीयता असफल भयो भनेर दुस्प्रचार गरिरहेको उनको आरोप थियो ।

कार्यक्रममा समाजवादी पार्टीको गण्डकी प्रदेश, कास्की र पोखरा महानगर स्तरिय कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई समायोजन घोषणा गर्नुका साथै उनीहरुलाई सामुहिक रुपमा सपथ ग्रहण गराइएको थियो । सो अवसरमा विभिन्न पार्टी छाडेर आएका २ सय जनालाई समाजवादी पार्टीमा प्रवेश गराइएको थियो । उनीहरुलाई पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले खादा र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अवीर लगाएर पार्टी प्रवेश गराएका थिए ।

कमेन्टहरु
Loading...