सहयोगी संस्थाको दोहोरी, वास्तविक पिडित छायाँमा

पोखरा, १४
दृष्टिबिहिन तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि पोखराको सिद्वार्थ चोकमा अवस्थित सिद्वार्थ कमप्लेक्समा २०७४ असारमा खुल्यो उज्यालो बजार । १६ जना दृष्टिबिहिनहरुले होटल, गुडिया पसल, कस्मेटिक, तरकारी, आदी व्यवसायको सन्चालन गरे ३० वटा सटरमा । जेठ २५ गते राति ११ बजेतिर बजारमा अचानक आगलागी हुन पुग्यो । पसलहरु जलेर नष्ट भए । करिब १ करोड बराबरको क्षति हुन पुग्यो आगलागी कसरी वा कस्ले ग¥यो भन्ने खुल्न नसक्दा अहिले विवाद चर्केको छ ।
कमप्लेक्सका सञ्चालक कृष्णमोहन पराजुलीे पक्षले उज्यालो बजार सन्चालन गर्ने उज्यालो प्रतिष्ठानले व्यापार नभएको भन्दै बिमाको रकम लिन आगजनी गरेको निस्कर्ष सहित पत्रकार सम्मेलन ग¥यो । त्यसको केही दिनपछि बुधबार उज्यालो प्रतिष्ठानले आफ्नो पक्षको बचाउका लागि विवरण सहित पत्रकार सम्मेलन गरेको छ ।
प्रतिष्ठानकी अध्यक्ष पार्वती कुमारी शर्माले आगलागीको सत्य तथ्य छानबिन गरेर वास्तविक कारण पत्ता लगाउन सरोकारवालाहरुको ध्यानाकर्षण नपुगेको बताईन । ‘यदि मैले नै आगलागी गराएको पुष्टि हुन्छ भने म खुसी – खुसी जेल जान तयार छु, ’उनले भनिन्, ‘तर बिना कुनै प्रमाण दोष लागाएर मानसिक यातना दिने, भ्रामक खबर फैलाउन कुरा कदापी मान्य हुने छैन ।’ उनका अनुसार बिमामा दृष्टिबिहिन बाहेक अन्य पसलहरुलाई सामेल गर्न नमानेका कारण सञ्चालकहरुले उनलाई नै आरोप लगाएका हुन् ।
प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मण सुवेदीले बिगतमा पत्रकार सम्मेलन गर्न खोज्दा त्यसको आवश्यकता नरहेको भन्दै सञ्चालकहरुले रोकेको र पछि आफुहरुको मौनतालाई नै कमजोरी ठानेर शंकाको आधारमा चरित्रहत्या गर्न खोजेको आरोप लगाए । ‘शंकाको आधारमा हामीहरुलाई दोष थुपार्ने काम भएको छ । प्रमाण बिनानै प्रतिष्ठानलाई दोष देखाएर गरिएको पत्रकार सम्मेलनले जनतामा नराम्रो सुचना पुगेको छ,’ उनले भने । व्यवसाय राम्रो नचले पछि व्यवसायीहरुलाई धपाउन सन्चालकले नै आगलागी गरेको हुनसक्ने दाबि गरे ।
उज्यालो बजार रहेको घरका घरधनी राजेस पराजुलीले उज्यालो बजारको बिग्रदै गएको व्यापार, असारमै सटर लिएपनि चैतमा बल्ल गरिएको बिमा आदीले शंका गर्ने ठाँउ बाँकी रहेको बताए । ‘बैसाखमै सटर छोडेर जाने सम्झौता भएको थियो । उहाँहरु जेठसम्म निष्क्रिय भएर बस्नुभयो, ’ उनले भने, ‘पछि आगलागी हुने दिनमा प्रतिष्ठानकी अध्यक्षले आफ्नो सटरका बहुमुल्य वस्तुहरु पनि लिएर जानुभएको थियो । आगलागीको कारण खोज्दा बिजुलीको खराबीले पनि नभएको देखीएपछि सन्चालकहरुले पत्रकार सम्मेलन गर्नुभएको हो ।’
जेठ २५ गते लागेको आगलागीमा उज्यालो बजारका एउटा बाहेक अन्य सबै सटरमा क्षति पुगेको छ । त्यस्तै उज्यालो नेपाल बाहिरका अन्य ३ पसलहरुमा पनि क्षति भएको छ । आगलागी बिजुलीका कारण लागेको हुन सक्ने बताइए पनि बिधुत प्रधिकरणको अनुसन्धानले त्यस्तो केही नरहेको निस्कर्ष निकालेको थियो । एकतर्फ सन्चालकहरुले प्रतिष्ठानलाई र प्रतिष्ठानले सन्चालकहरुलाई आरोप लगाइरहदा अर्कोतर्फ भने आगलागीले क्षति पुगेका व्यवसायीहरु छाँयामा परेका छन् । उनीहरु २ पक्षको दोहोरीमा ताली पिटेर सुनिरहेका छन् ।
उज्यालो बजारमै गुडिया पसल सन्चालन गरेर बसेका स्याङ्जाका सुर्य बहादुर भट्टराईले पसलमा भएको क्षतिले भन्दा बढि दुई पक्षको दोहोरीले निरास बनाएको बताए । जेठ २५ को आगलागीमा २०÷२२ लाखको सामानसंगै उनको गाडी किन्ने सपना पनि खरानी भएर गयो । उनको १८ लाख जति ऋण अझै तिर्न बाँकी छ । यस्तो अवस्थामा उनले बिमाको रकम पनि पाउने नपाउने टुङ्गो हुन सकेको छैन । ‘दुई पक्षको बाझाबाझमा सामेल हुन मलाई कुनै रुचि छैन, ’उनले भने, ‘बिमाको पैसा पाएदेखी ऋण तिरेर फेरि व्यवसाय चलाउने थिए । अहिले त छेउमा बसेर रमिता मात्र हेर्न परेको छ ।’
सुर्य जस्ता १० जाना व्यवसायीहरुलाई अब के गर्ने भन्ने बारेमा केही थाहा छैन । अपाङ्गता संग जुधिरहेका उनीहरु गल्ति जस्ले गरेको भएपनि त्यसको पिडा आफुहरुले पाउन नहुने बताउछन् । उनीहरुको यहि आशा छ, ‘छिट्टै विवाद टुङ्गीयोस र फेरी आत्मनिर्भर भएर जीवन यापन गर्न सकौ ।’

कमेन्टहरु
Loading...