शुक्रराजमा व्यवस्थापन समिति विदाई तथा अभिभावक संघ गठन

पोखरा, १० असोज / पोखरा महानगरपालिका वडा नं २२ मा रहेको शुक्रराज माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरुलाई एक कार्यक्रम गरी विदाई गरिएको छ ।

वि.सं. २०७१ देखी २०७६ जेठ सम्म व्यवस्थापन समितिका अध्यक्ष भइ कार्य गरेका गण्डकी प्रदेशसभाका सांसद समेत रहेका रामजीप्रसाद बराल नेतृत्वको टिमलाई आज विद्यालयले औपचारिक विदाई गरेको हो ।

हालका व्यवस्थापन समितिका अध्यक्ष नरहरि बराल, विद्यालयका प्रधानाध्यापक नरनाथ बराल लगायतले सांसद बराल सहित समितिका सदस्यहरु छविलाल बराल, प्यामलाल बराल, कमला बराल र पुजा गुरुङलाई मायाको चिनो सहित विदाई गरेका थिए ।

कार्यक्रममा सांसद बरालले स्थानीयबासी, अभिभावक, शिक्षक लगायतको सहयोगबाट आफ्नो कार्यकालमा विद्यालयमा होस्टल भवन, विद्यालय बस, ३५ रोपनीमा फैलिएको विद्यालय परिसरमा पर्खाल तथा स्वर्ण महोत्सव प्रवेशद्धार निर्माण गर्न सफल भएको बताए ।

राजनीतिक पृष्ठभूमिबाट आएपनि आफू विद्यालयमा कुनैपनि राजनीतिको गन्ध र दलिय स्वार्थ भन्दा माथि रहेर शैक्षिक अड्डामा राजनीति घुसाउन हुँदैन भनेर काम गरेको स्मरण गरे ।
व्यवस्थापन समितिको जिम्मेवारीमा नरहे पनि विद्यालयलाई हर हिसावले समृद्ध तुल्याउने दायित्व जोडिएको बताउँदै सांसद बरालले भने,‘ मलाई विदाई भएको अनुभूति भएको छैन । तपाईहरुले जसरी सम्मान गर्नुभयो यसबाट ममा जिम्मेवारी थपिदिनुभएको अर्थमा महशुस गरेको छु। विद्यालयलाई समृद्ध बनाउन सँधै लागि पर्दछु।’

व्यवस्थापन समितिका अध्यक्ष नरहरि बरालले सांसद बरालको कार्यकालमा विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक विकासमा महत्वपूर्ण रहेको भन्दै बाँकी रहेका कार्यलाई पूरा गर्न हामी प्रतिवद्ध रहेको बताए । अध्यक्ष बरालले शैक्षिक परामर्श सभाका लागि समेत पहल गर्ने विश्वास दिलाए । वडाध्यक्ष मित्रलाल बरालले अभिभावक सचेत नभए शैक्षिक सुधार सम्भव नरहेको चर्चा गर्दै विद्यालयको सुधारमा सबैले योगदान गर्नुपर्ने बताए ।

कार्यक्रममा सांसद बरालले गत वर्ष झै यसवर्ष पनि विद्यालयका दुई जना विद्यार्थी सदिक्षा बराल र सृष्टि तामाङको शैक्षिक अभिभावकत्व ग्रहण गर्दै रु १० हजार सहयोग गरेका थिए । अभिभावक भेलाले छलिलाल बरालको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ । संघको सदस्यहरुमा ऋषिराम पौडेल, सुविना बराल, सरु बराल, हुतराज बराल सदस्य रहेको प्रधानाध्यापक नरनाथ बरालले जानकारी दिए ।

कमेन्टहरु
Loading...