तीन महिनाको शिशु बोक्दै सशक्ति करण तालिममा

पोखरा, २९ वैशाख /सिक्ने र जान्ने रहर भएपछि कुनैपनि परिस्थिति बाधक हुँदैन भन्ने उदाहरणकी एक पात्र हुन् माछापुच्छ्र्रे गाउँपालिका वडा नं ५ की उर्मिला थापा ।

वडाको आयोजना र वडा स्तरीय महिला सञ्जालको व्यवस्थापनमा आयोजित तीन दिने सशक्तिकरण एवं नेतृत्व विकास तालीममा सहभागि थापाले तीन महिने शिशु च्यापेरनै तालीममा सक्रिय सहभागीता जनाइन् ।

“तीन महिने शिशु छोड्न पनि मिलेन तालीम लिने रहर असाध्यै जाग्यो अनि बच्चा लिएरनै सहभागि भएकी हुँ ।” तालीमको समापन समारोहमा अनुभव राख्दै थापाले भनिन् “नेतृत्व के हो र कसरी वहन गर्ने भन्ने नबुझी जिम्मेवारी लिएँ ।

त्यही जिम्मेवारी वहन गर्न नेतृत्व विकास आवश्यक रहेछ । तीन दिनको तालीममले आत्मविश्वास जगाएको छ । ” सिमे डाँडा आमा समूहकी अध्यक्ष समेत रहेकी थापाले अब जिम्मेवारी बहन गर्ने आत्मविश्वास चुलिएको बताइन् ।

माछापुच्छ्र्रे गाँउपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले महिला सशक्त हुन विभिन्न तालीम र अवसरको खाँचो औल्याइन् । शिक्षा विना महिला सशक्तिकरण नहुने भन्दै शिक्षामा जोड दिन उनको आग्रह थियो ।

वडा अध्यक्ष जुमबहादुर गुरुङले अब हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागीता जरुरी रहेको बताए । नेतृत्व विकास गरेर महिलालाई अघि बढ्न उनले सुझाव दिए ।

महिलाको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजित उक्त तालीममा वडाका आमा समूह, टोलविकास संस्था लगायतका २५ जना महिलाको सहभागीता रहेको संजालका अध्यक्ष राधीका ढुङ्गानाले जानकारी दिइन् । उक्त तालीमको पत्रकार जमुना वर्षा शर्माले सहजीकरण गरेकी थिइन् ।

कमेन्टहरु
Loading...