सकियो २० औं पोखरा सडक महोत्सव 

पोखरा,१८ पुष /रेवान पोखराले आयोजना गरेको पाँच दिने पोखरा सडक महोत्सव मंगलबारदेखि सकिएको छ । महोत्सवको अन्तिम दिन सडकमा किराँत समुहको साकेला, स्याब्रो लगायतका नृत्य प्रस्तुत गरिएको थियो । त्यसैगरि राधाकृष्ण बालन समुहले खहरे, गौरीघाट लगायतका क्षेत्रमा भजन कीर्तन तथा नृत्य प्रस्तुत गरे । मंगलबार सडकमै लाखे र तयामचापनि प्रस्तुत गरिएको थियो । त्यसैगरि लम्तरी समुहको साँस्कृतीक कार्यक्रमले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिलाउन सफल भयो ।

महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा मंगलबार दिनभर लोकदोहोरी तथा साँस्कृतीक कार्यक्रम सञ्चालन भए । महोत्सवको अन्तिम दिन लाइभ ब्याण्डतर्फ सविन राई एण्ट द पोराज ब्याण्डको प्रस्तुती रहेको रेवान पोखराका महासचिव गणेश थापाले जानकारी दिए । सडक महोत्सव मनाउन आएका आन्तरिक तथा बाह्य पर्यटकहरुले मध्यरात १२ बजे लेकसाइडको सडकबाटै अंग्रेजी नयाँ वर्ष सन् २०१९ को भब्य स्वागत गरे । सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूलनाराका साथ भएको महोत्सव सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने प्रायोजक, प्रवद्र्धक, राजनीतिक दल, सरकारी निकाय, सुरक्षा निकाय, पर्यटन सम्वद्ध विभिन्न संघसंस्था, साँस्कृतीक समुह, स्थानिय आमा समुह, युवा समहु, अवलोकनकर्ताप्रति रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले कृतज्ञता जाहेर गरेका छन् ।

यस पटकको पाँच दिने महोत्सवमा पुन समाजको झाँकि, नवलपुरको थारु समुहको प्रस्तुती, भारतिय र पाकिस्तानी एम्बेसीको सहयोगमा आएको भारतिय र पाकिस्तानको समुहको प्रस्तुती पनि पृथक रहयो । जापान टोक्योको इको ब्याण्डले पनि दर्शकको मन जितेको साँस्कृतीक समुहका संयोजक चौबहादुर गुरुङ्गले बताए ।

कमेन्टहरु
Loading...