पोखरामा रोटरी सम्मेलन शुरु

पोखरा, २४ माघ/ रोटरी सम्मेलन शुक्रबारदेखि पोखरामा शुरु भएको छ । रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट सम्मेलन पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको हो । सम्मेलनको रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहताले उद्घाटन गरे ।

रोटरी सम्मेलनको उद्घाटन गर्दै रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहताले रोटरीको कोषमा योगदान दिन नेपाली रोटरियनहरुलाई अपिल गरे । तपाईंहरुले जति धेरै कोषमा योगदान गर्नुहुन्छ, नेपालमा त्यति धेरै फण्ड आउँछ,‘उनले भने,‘त्यसैले तपाईंहरुले जतिसक्दो धेरै फण्डिङमा कन्ट्रिब्यूट गर्नुस् ।’ नेपाली रोटरीयनले जति फण्डिङ गर्छन् त्यति नै फण्ड नेपाल आउने र सामाजिक र मानवीय सेवामा खर्चिने उनले स्पष्ट पारे । आफ्नो फजुल खर्च कटाएर फण्डिङमा योगदान दिन उनको आग्रह थियो ।

रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट मेहताले रोटरी संसारको सबैभन्दा उत्कृष्ट सामाजिक सेवा र मानवीय सेवा गर्ने संस्था भएको दाबी गरे । सक्नेले सकेजति योगदान दिने हो भने रोटरीकै माध्यमबाट पृथ्वीलाई स्वर्ग बनाउन सकिने उनको भनाई थियो ।

रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले रोटरीको कोषमा योगदान बढाउन आफूहरु दत्तचित्त भएर लागिरहेको बताए । सामाजिक सेवाका लागि हामी रातदिन खटिरहेका छौं,‘उनले भने,‘हामी अझै रोटरीको कोषमा योगदान बढाउन चाहन्छौं र बढी भन्दा बढी सामाजिक र मानवीय सेवामा लाग्न चाहन्छौं ।’

रोटरी सम्मेलनका कन्फिरेन्स चेयर गोपाल धोजुले रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को डिष्ट्रिक्ट सम्मेलन पोखरामा गर्न पाउनु गौरवको कुरा भएको बताए । यसले गर्दा पोखरासहित समग्र नेपालकै पर्यटनमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा करीब २ हजार रोटरीयनहरु सहभागि भएको आयोजकले जनाएको छ । नेपालमा १२४ रोटरी क्लव तथा भुटानमा रहेको एउटा रोटरी क्लवका सदस्यहरु सम्मेलनमा सहभागि हुन आएको सचिव डिल्लीप्रसाद शर्माले बताए । सम्मेलनमा रोटरियनबाहेक अमेरिका, जापान, ताइवान, अमेरिका, स्विडेनलगायतका देशका रोटरियनहरुपनि सहभागि भएको उनले बताए । सम्मेलनमा सहभागिहरुलाई गण्डकी प्रदेशका १६ रोटरी क्लवहरुले संयुक्त आतिथ्यता प्रदान गरेका छन् ।

सम्मेलनको पहिलो दिन समुद्घाटन र रोटरीले गरेका कामहरुको बारेमा छलफल भएको छ । दोश्रो दिन रोटरीले शिक्षा, स्वास्थ्य, वातावरण, खानेपानी, शान्ति स्थापनालगायतका क्षेत्रमा गरेका कामहरुको बारेमा समीक्षा गर्नुका साथै रोटरीले गर्ने आगामी कामका योजना तयार पारिने जनाइएको छ । सम्मेलनको दोश्रो दिन पोलियो ¥याली निकालिने जनाइएको छ ।

पोखरा उद्योग वाणिज्य संघ गैह्रापाटनबाट विहान ७ बजे शुरु हुने ¥याली महेन्द्रपुल, नयाबजारहुँदै सम्मेलन स्थल प्रदर्शनी केन्द्रसम्म पुगेर समापन हुने कन्फिरेन्स चेयर गोपाल धोजुले जानकारी दिए । उनका अनुसार सम्मेलनको अन्तिम दिन घोषणा पत्र जारी गर्दै सम्मेलन सकिनेछ ।

माघ २६ गतेसम्म चल्ने सम्मेलनमा रोटरी क्लव र रोटरियनहरुले गरेका कामको समीक्षा, अनुभव आदानप्रदान र आगामी वर्ष गरिने कामको बारेमा छलफलसहित योजना बनाइने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा रोटरीले गर्ने सामाजिक सेवाका विभिन्न श्रोत तथा आयामहरुका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रस्तुती राख्नेछन् । अन्त्यमा फेलोसीपपनि हुने उनले बताए । कन्भेन्सनले पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्ने उनले बताए ।

कमेन्टहरु
Loading...