पोखरा, ८ वैशाख / कोरोना भाइरसको महामारी र सरकारले गरेको लकडाउनले मजदुरी गर्ने र छाक टार्न समस्यामा परेकाहरुलाई गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले सहयोग प्रदान गरेका छन् । पहारीले पौखरी स्वयमसेवी संस्थाले सञ्चालन गरेको भोजन वितरण कार्यमा सोमबार ७ बोरा चामल र तेल सहयोग गरे ।
उनले अहिले तत्कालको आवश्यकतालाई हेरेर सहयोग गरेको आवश्यक परे हरेक दिन चामल तेल लगायतका खाद्यान्न सहयोग गर्न आफू प्रतिवद्ध भएको बताए । सांसद पहारीले “अहिलेको विषम परिस्थितिमा पौरखी स्वयम सेवी तयार भएर परोपकारको काममा जुटेको छ यो निकै प्रशंसनीय काम हो, म जनताको प्रतिनिधि हुँ, आवश्यक परे नैतिक भौतिक सबै सहयोग गर्न तयार छु ।” उनले कास्कीका कुनै पनि जनताले गाँसबाँसको समस्यामा परे तुरुन्तै खबर गर्न समेत आग्रह गरे ।
उनले लकडाउन सरकारको रहर नभई, जनताको सुरक्षा गर्नु सरकारको दायित्व भएकाले सबैले लकडाउन पालना गर्न पनि आग्रह गरे । पौरखीका राजु शर्मा तिमिल्सिनाले जनप्रतिनिधीबाट पहिलोपल्ट सहयोग प्राप्त भएको र अन्यले पनि सहयोगको लागि बचन दिएको बताए । उनले दैनिक २० देखि २२ जना स्वयम सेवकले सेवामा जुटेको बताए । तिमिल्सिनाका अनुसार सोमबार मात्रै पौखरीले पोखरा महानगरका करीब ११ सय जनालाई घरमै खाना पुर्याएको छ ।
पोखरा महानगरपालिका वडा नं ७ मासवारमा रहेको शान्तिनगर बैङ्क्युटबाट अहिले यो अभियान सञ्चालित छ । यसका सञ्चालक प्रजापति अधिकारी समेत यस अभियानमा छन् । पौरखीले सहयोगीमनबाट स्वत स्फूर्त जिन्सि सहयोग जुटेको तर कसैसँग नगद नलिएको बताए । उनले सोमबार नै शैलेन्द्र रावतबाट तीन कार्टुन तेल सहयोग भएको थियो ।