पोखरा महानगरपालिकाले राजमार्ग मापदण्डमा परेका संरचना हटाइने

पोखरा, ६ जेठ/पोखरा लेखनाथ महानगरपालिकाकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको मापदण्डमा परेका अस्थायी घर, टहरा र ग्यारेजहरुले राखेका सामान हटाउने भएको छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीको अध्यक्षतामा आइतबार बसेको ट्राफिक व्यवस्थापन समितिको बैठकले अस्थीय घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो ।

७ दिन भित्र हटाउन सूचना जारी गर्ने र नहटाएमा कारबाही गरिने ट्राफिक व्यवस्थापन समितिका फोकल पर्सन सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार संरचना हटाउने ७ दिने सूचनालाई वेवास्ता गरेर नहटाएमा ५ हजार जरिवाना गरिनेछ । अस्थायी संरचना र ग्यारेजहरुले सडक छउेमा जथाभावी सामान राख्दा ट्राफिक व्यवस्थापनमा समस्या पारेकोले हटाउन लागिएको हो ।

विजयपुरदेखि जिरोकिमीसम्मको बीच सडकमा रहेका बिजुलीका पोललाई पनि सडक छेउमा सार्ने निर्णय महानगरपाकिाले गरेको छ । बीच सडकमा रहेका १७ वटा पोललाई १ हप्ता भित्र सडक छेउमा सारिने पौडेलले बताए । बीच सडकमा बिजुलीको पोल हुँदा दुर्घटना हुनका साथै ट्राफिक व्यवस्थापनमा समेत असर परेको छ ।

महानगरपालिकाले पोखराका मुख्य बजार क्षेत्रका सडकमा गरिने पार्किङको विकल्प खोज्ने निर्णय गरेको छ । महानगरपालिकाले व्यक्तिको जग्गा भाडामा लिएर ट्राफिक व्यवस्थापन गर्न सूचना जारी गरिसकेको छ । संघ संस्थाहरुले आफ्ना सवारी साधन पार्किङको व्यवस्थान आफैले गर्नुपर्ने र सडक जाम हुने गरी नगर्न संघसंस्थालाई सूचना जारी गर्ने निर्णय महानगरपालिकाले गरेको छ ।

विशेष गरी पार्टी प्यालेस भएका सडकहरुमा लामो समयसम्म सवारी सधान पार्किङ गर्दा ट्राफिक जाम हुने गरेकोले पार्टी प्यालेस आफैले पार्किङको व्यवस्थापन गर्नुपर्ने पौडेलले बताए । बजारका विभिन्न चोकका ट्याक्सी पार्किङलाई पनि व्यस्थित गर्ने योजना महानगरपालिकाले बनाएको छ । पृथ्वीचोकको बसपार्कमा लामो समय पार्किङ गर्ने बसहरुलाई पनि हटाउने निर्णय नगरपालिकाले गरेको छ ।

कमेन्टहरु
Loading...