पोखरा महानगर पालिकाको बजेट ६ अर्ब १९ करोड

पोखरा, १० असार / पोखरा महानगर पालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाखको बजेट विनियोजन गरेको छ । चालु खर्च तर्फ ३ अर्व २० करोड ८४ लाख अर्थात ५२ प्रतिशत र पुँजीगत खर्च तर्फ २ अर्व ९८ करोड ८८ लाख अर्थात ४८ प्रतिशत बजेट छुट्याएको छ ।

महानगरपालिकाले बुधबार आयोजित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकरण कार्यक्रममा पोखरा महानगर पालिकाका उपप्रमुख मन्जु देवी गुरुङले पूर्वाधार विकास, रोजगार प्रदान, कोरोना, सामाजिक विकासलाई जोड् दिएको बताइन् । पोखरा महानगरपाकिालका प्रमुख मानबहादुर जिसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आधारीत रहदै बजेट प्रस्तुत गरिन् ।

जसमध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने, अन्तर सरकारी अख्तियार बाट ८५ करोड प्राप्त हुने अनुमान रहेको छ ।

राजश्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख प्राप्त हुने अनुमान पोखरा महानगरको अनुमान छ । आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

फेवा तथा बेगनास र अन्य सबै तालको संरक्षण योजना, ताल देखी ताल सम्म सडक सञ्जाल, गुफा देखी गुफा सम्म सडक, कोरोनाबाट विस्तापित भएकाहरुलाई रोजगारीको अवसर, अन्डरग्राउन्ड पार्किङ सहित निर्माण भएका घर तथा भवनहरुको नक्सापास दस्तुरमा एक तलाको राजश्व छुट, पोखरा महानगरपालिका क्षेत्र भित्र पुरातात्विक महत्वका पुराना घरहरु भत्केको स्थानमा साविककै शैली झल्कने गरी भवन निर्माण गरेमा ५० प्रतिशत छुट दिइने घोषणा गरेको छ । पूर्ण रुपमा पार्किङ भवन बनाएमा राजश्व छुट दिइनेछ बजेटमा उल्लेख छ ।

महानगरले एकिकृत सम्पत्ति कर, नक्सापास दस्तुर, ब्यवसाय कर र घरबहाल करलाई मुख्य आम्दानीको श्रोतको रुपमा प्रयोग गर्दै आएको छ । महागनले यस वर्ष कर नबढाउने तर दायर बनाउने नीति लिएको छ ।

कमेन्टहरु
Loading...