पोखरा महानगरको बजेट जनतामुखी सेवा र पूर्वाधारमा मन्त्रीको जोड

पोखरा, ८ असार/तेस्रो महानगर सभामा जटेको पोखरा लेखनाथ महानगरपालिकाले नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने विषयको बारेमा प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित ७ जना मन्त्रीसँग छलफल गरेको छ । महानगरका मेयर मानबहादुर जिसीको अध्यक्षतामा बिहीबार भएको कार्यक्रममा मन्त्रीहरुले स्थानीय तह सेवा प्रदायक संस्था भएकोले सेवालाई चुस्त, दुरुस्त, छिटो, छरितो बनाउँदै पोखरालाई आधुनिक सहर बनाउन चाहिने पूर्वाधार निर्माणमा प्राथमिकता दिन सुझाव दिए ।

कार्यक्रममा प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको विकासको लागि महानगरसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए । पोखराको प्राथमिकताका क्षेत्र तोकेर विकास निर्माणको साथै सार्वजनिक जग्गाको संरक्षणमा ध्यानदिन गुरुङले महानगरलाई सुझाए ।‘महानगरले आन्तरीक सडक व्यवस्थापनमा ध्यान दिनुपर्छ’, मुख्य मन्त्री गुरुङले भने, ‘४ देखि ६ लेनका सडक निर्माणलाई प्राथमिकता दिएमात्र पोखराको ब्युटिफिकेसन झल्किन्छ ।’

उनले क्षेत्रीय बसर्पाक निर्माण प्रदेश सरकारको प्राथमिकता भएकोले महानगरले मेट्रो बसर्पाकतर्फ सोच्न सुझाए । पोखराको प्रत्येक वडामा एउटा पार्क निर्माण गर्ने योजनालाई समेट्नुपर्ने बताउँदै गुरुङले लघुउद्यम विकास कार्यक्रमलाई जोडदिएमा रोजगारीका अवसर सिर्जना हुने बताए । गुरुङले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पोखरा प्रदेशको राजधानी भएकोले यसलाई आधुनिक सहर निर्माण गर्न चाहिने पूर्वाधारलाई जोड दिनुपर्ने बताए । सडक विस्तारको साथै बसस्टप निर्माणमा ध्यान दिएर पोखराको ट्राफिक व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । काम गर्नलाई पैसा चाहिन्छ,’उनले भने,‘महानगरले कर बढाएर नभइ दायरा बढाएर राजश्व संकलनमा जोड दिनुपर्छ ।’ पर्यटकीय सहर भएकाले त्यसको पूर्वाधारमा पनि ध्यान दिन मन्त्री गुरुङले सझाए ।

आन्तरीक मामिला तथा कानुन मन्त्री हरिबहादुर चमानले स्थानीय तह र प्रदेश बलियो भएमात्र संघीयता बलियो हुने बताए । पोखरा सहरलाई प्रविधिले निगरानी गर्नुपर्ने बताउँदै सडक सुरक्षामा ध्यान दिन आवश्यक भएको बताए । ‘स्थानीय तह र प्रदेश सरकारबीच हटलाइन सम्पर्क हुनुपर्छ,’ उनले भने, ‘महानगरकै नेतृत्वमा पोखरालाई आधुनिक सहर निर्माणमा प्रदेश सहकार्य गर्न तयार छ ।’

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पोखराका पर्यटकीय र एतिहासिक स्थलहरुको संरक्षणमा जोडदिन आग्रह गरे । जथाभावी राखिएका बिजुलीका पोल हटाएर तारलाई जमिनमुनी व्यवस्थापन गर्नुपर्नेमा उनले जोडदिए । पोखराको पार्किङ समस्या हल गर्नेगरी योजना बनाउन मन्त्री बस्नेतले सुझाए । उनले विभिन्न जातजातिको संस्कृति संरक्षणको साथै पर्यटकीय गन्तव्य बनाउन सांस्कृतिक ग्राम आवश्यक भएको बताए । उनले छाडा चौपाया र फोहोर व्यवस्थापनमा विशेष ध्यान दिन महानगरको ध्यानाकर्षण गराए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले पोखराका कृषि कोल्ड स्टोर्स निर्माणको योजना मन्त्रालले बनाएको बताउँदै महानगरसँग सहकार्य गर्ने बताए । उनले बिउबिजन परीक्षण प्रयोगशाला, बधशाला निर्माण, एक सहकारी नमुना उत्पादन, प्रत्येक वडाको पहिचान हुने गरी उत्पादनलाई जोड दिने नीतिमन्त्रालयको रहेकोले महानगरसँगको सहकार्यमा यो काम गरिने बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन पूर्वाधारमा महानगरसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए । उनले रत्नमन्दिरलाई संग्राहलयको रुपमा विकास गरेर पर्यटकीय गन्तव्य बनाउन मन्त्रालय र महानगरको सहकार्य हुनुपर्ने बताए ।

सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले प्रदेश विश्वविद्यालय र प्राविधिक महाविद्यालय बनाउने योजना मन्त्रालयले बनाएकोले महानगरसँग सहकार्य गरेर काम गरिने बताइन् । हिंसा पीडित महिला आश्रयस्थल निर्माण गर्नुपर्ने उनले बताइन् । उनले एक स्थानीय तह एक खेलमैदान निर्माणको योजना मन्त्रालयको रहेको बताउँदै स्थानीय तहको नेतृत्वमा मन्त्रालयले काम गर्ने बताइन् ।

कार्यक्रममा प्रदेश नम्बर ४ का मुख्य सचिव नारायणप्रसाद बिडारीले महानगरले पर्यटन र कृषिलाई विशेष महत्व दिनुपर्ने बताए । छलफल कार्यक्रममा पोखरा लेखनाथ महानगरका उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल सहभागी थिए । महानगरको तेस्रो महानगर सभा असार १० गते पोखरा सभागृहमा हुँदैछ । महानगरले ५ अर्ब ६५ करोडको बजेट ल्याउने तयारी गरेको छ ।

कमेन्टहरु
Loading...