सिसी क्यामेरा जडानमा यातायात व्यवसायीले सघाउने

पोखरा, ४ मंसिर / ‘सुरक्षित पोखरा’को लागि सहरका मुख्य केन्द्रहरुमा सिसी क्यामेरा जडान गर्ने अभियानलाई पोखराका यातायात व्यवसायीहरुले सघाउने भएका छन् । अभियानलाई गति दिनको लागि पोखरा उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा उपस्थित यातायात व्यवसायसँग सम्बन्धित संघ-संस्थाका प्रतिनिधीहरुले सिसी क्यामेरा जडान अभियान पोखराको पूर्वाधार र सुरक्षासँग जोडिएकोेले आफूहरुले सघाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा गण्डकी धौलागिरी सार्वजनिक यातायात व्यवसाय समन्वय समितिका संस्थापक अध्यक्ष हरिप्रसाद खनालले सुरक्षा यातायात व्यवसायीहरुको पहिलो चासो भएकोले यो अभियानलाई सघाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा यातायात व्यवसायी बाबुराम गिरिले पोखरा भित्रने नाकाहरुको सुरक्षामा विशेष व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । जडानसँगै यसको दीगो संचालनको बारे निश्चित योजना हुनुपर्नेमा उहाँको जोड थियो । गण्डकी धौलागिरी यातायातका पूर्व अध्यक्ष बसन्त प्रधानले पोखराको पूर्वाधार निर्माणमा यातायात व्यवसायीहरुले सक्दो योगदान गरेको उल्लेख गर्दै यो अभियान अपवाद नहुने बताउनुभयो ।

उहाँले सबै सरोकारवालाहरुको यो अभियानमा साथ र सहभागितामा जोड समेत दिनुभयो । यसैगरी समितिका वर्तमान अध्यक्ष पदमबहादुर केसीले असल कामको लागि आफूहरु सदैव तयार रहेको बताउनुभयो । गण्डकी अंचल यातायात व्यवसायी समितिका अध्यक्ष सिँहबहादुर कार्की र सचिव भानुभक्त ढकालले यो परियोजना संचालनसँगै सुरक्षा चाहने अन्य क्षेत्रमा पनि सिसी क्यामेरा जडान गर्नुपर्ने बताउनुभयो । गण्डकी क्रसर उद्योग व्यवसायी संघकधा सुरेन्द्र त्रिपाठीले सुरक्षा सबैको चासो भएको उल्लेख गर्दै यो कार्य छिटो थाल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सुरक्षित पोखरा किन भन्ने विषयमा अवधारणा पत्र प्रस्तुत गर्दै यसको संचालन विधी, लागत, क्षेत्र तथा अपरिहार्यताबारे जानकारी दिनुभएको थियो । उहाँका अनुसार यो परियोजना सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप संचालनमा आउनेछ । पोखरा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त पहलकदमी नै सुरक्षित पोखरा भएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिलकुमार शाहीले सुरक्षित सहरको लागि आधुनिक सुरक्षा प्रणाली अपरिहार्य भएकोले यो अभियानमा साथ दिन सबैसँग आग्रह गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिँहले काठमाण्डौंपछिको दोस्रो गन्तव्य पोखरालाई सुरक्षित बनाउन यो अवधारणा ल्याइएको प्रष्ट पार्नुभयो । पोखरा लेगखनाथ क्षेत्रमा सुरक्षा संवेदनशील क्षेत्र पहिचान गरिएका क्षेत्रमा पहिलो र त्यसपछि क्रमशः यो अभियानलाई अन्यत्र पनि लैजाने उहाँले जानकार दिनुभयो ।

सिसी क्यामेरा जडानसँगै यसको संचालनको लागि उपभोक्ता समिति गठन गरिने उहाँले जानकारी दिनुभयो । प्रविधीयुक्त अनुसन्धानमा प्रहरी प्रशासन फितलो भएको सन्दर्भमा सिसी क्यामेरा जडानले सहयोग पुग्ने उहाँको विश्वास थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, कोषाध्यक्ष पवनकुमार प्रजापति, उपमहासचिव अर्जुन पोखरेल तथा कार्यसमिति सदस्य गोमा ढकालको पनि उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...