केदारेश्वरमा बोलबम तयारी पूरा

पोखरा, ३१ असार/पोखरामा साउन सोमबार हुने बोलबम तयारी पूरा भएको छ । बोलबमधामको रुपमा परिचित केदारेश्वर महादेवमणि सेवाश्रम समितिले हरेक वर्षझैं यसपालि पनि आयोजना गर्ने बोलबम कार्यक्रम तयारी पूरा भएको जनाएको हो ।

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ हुने उक्त कार्यक्रम साउनका पाँचै सोमबार चल्ने बोलबम संयोजक शंकर खरालले शनिबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । भक्तजनले बगरस्थित गाईघाटबाट सोमबार बिहान सेतीको जल उठाई पैदलयात्रा गरी केदारेश्वरमा जलार्पण गर्दछन् । भक्तजनलाई ठाउँठाउँमा सर्वतपानी तथा मन्दिरमा प्रसादको व्यवस्था गरिएको छ ।

साउनमा भगवान् शिवको आराधना गर्र्दै ज्योर्तिलिङ्गमा गंगाजल र बेलपत्रजस्ता सामग्रीले पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । बोलबमको महत्व र केदारेश्वरको छुट्टै महिमा छ । ‘१०८ धारा स्नान, ८ किलोमिटर पैदलयात्रा र १०८ शिवलिङ्गमा जलार्पण गर्न पाउनु भक्तजनको अहोभाग्य हो, जुन केदारेश्वरमा मात्र उपलब्ध छ । यसैले समितिले मनोकांक्षा पूरा गर्न सम्पूर्ण भक्तजनलाई बोलबम जलयात्रा, बाजागाजा र झाँकी तथा शिवलिङ्गमा जलार्पण, पूजाआजा तथा भजनकीर्तनलगायतमा उल्लेख्यरुपमा सहभागिता जनाउन आग्रह गर्दछौं’ संयोजक खरालले बताए ।

केदारेश्वरमा संचालित केदारेश्वर वैदिक गुरुकूल आश्रमका ३२ जना बालकहरुको शिक्षादीक्षा, आवासलगायतको व्ययभार पनि भएकोले कार्यक्रमको सफलता मूलमन्त्र हुने मन्दिरका पीठाधीश डा लेखनाथ आचार्यले बताए । उनले बोलबमको महत्व र गुरुकूल आश्रमबारे जानकारी दिए । पत्रकार सम्मेलनमा मन्दिरका सचिव खिमबहादुर पहारी, प्रचार संयोजक विजय नेपाल लगायत बोलेका थिए । यसैबीच, बोलबमको प्रचारस्वरुप शनिबार केदारेश्वर मन्दिर मुलगेटदेखि मोटरसाइकल ¥याली सम्पन्न भयो ।

कमेन्टहरु
Loading...