पोखरामा केबलकार विवादः मुआब्जा माग्दै काममा अवरोध

पोखरा, ५ साउन /पोखराको सेती बगरदेखि सराङकोट हाइटसम्म सञ्चालन हुने केबलकारको काम रोकिएको छ । केबलकारको पोल र तार जाने ठाउँको स्थानीयले मुआबजा मागेर केबलकारको काम रोकेका हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर १८ मा पर्ने केबलकार योजना सर्वोच्च अदालतमा पुगेको र स्थानीयको विरोधका कारण रोकिएको हो । सेदी बगरबाट सराङकोट हाइटसम्मका लागि एक बर्ष ६ महिनाभित्र केबलकार सञ्चालन गर्न अन्नपूर्ण केबल कार प्रा.लि.ले उद्घोष गरेको थियो ।

अन्नपूर्ण केबल कारका अध्यक्ष कालु गुरुङले हिन्दु संस्कृतिअनुसार सेदी बगरमा भूमि पूजा गरी एक कार्यक्रममा बीच केबुलकारको शिलान्यास गर्दा पोखरावासीमा जुन उत्साह छाएको थियो, अहिले निराशामा परिणत भएको छ ।

शिलान्यासका क्रममा उद्यमी गुरुङले भन्नुभएको थियो, ‘पोखराका लागि अन्नपूर्ण केबलकार नयाँ पहिचान हुनेछ भने पर्यटन नगरी पोखरामा पर्यटन बढाउन यसले अपूर्व योगदान दिनेछ ।’ तर, यो उद्घोष स्थानीय नागरिकहरु सर्वोच्च अदालत पुगेपछि र सर्वोच्चले निर्माणाधीन केबलकार परियोजना तत्काल निर्माण नगर्न उत्प्रेषण आदेश दिएपछि बेकार नबन्ने त होइन भन्ने आशंका सिर्जना भएको छ ।

सेती बगरदेखि सराङकोटसम्म १८ वटा पोल गाडिएपनि त्यसमा लठ्ठा वा तार चढाउन भने बाँकी छ । परियोजनाका लागि ऋण लगानी गर्ने राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक र नेपाल बंगलादेश बैंकले लगानी गरेका छन् ।

केबलकारमा १६ देखि ३६ बटासम्म डिब्बा रहने र प्रत्येक डिब्बामा आठ जना यात्रुले यात्रा गर्नसक्ने छ । ५ देखि ७ मिनेट सम्मको यात्रा हुृने उक्त केवलकारमा जापानिज निप्पोल केवल संँगको प्राविधिक सहयोग रहने, केवलकार सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार निर्माण भईरहेको थियो ।

केबलकारको यात्रामार्फत एकैपटकमा फेवाताल, शान्ति स्तुपा, हिमश्रृखला र पोखरा बजारसँगै आसपासका स्थान र बरिपरिका प्राकृतिक सौन्दर्य अबलोकन गर्नसकिने र यात्रा गरेकै बखत केबलकारको डिब्बाबाटै यात्रुहरुले सूर्योदय र सूर्यास्त सहज रुपमा देख्न पाउँने यसका विशेष आकर्षणका छन् । आजको नेपाल समाचारपत्रमा विजय नेपालीले समाचार लेखेका छन् ।

कमेन्टहरु
Loading...